देशभर चार जना यातायात व्यवसायी चुनावी मैदानमा

माघ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशभर चार जना यातायात व्यवसायी चुनावी मैदानमा

काठमाडौै । आसन्न प्रतिनिधिसभा चुनावमा यातायात व्यवसायी तथा यातायात मजदुरका मुद्दा बोकेर देशभर चार जना यातायात व्यवसायी विभिन्न पार्टीबाट उम्मेदवार बनेर चुनावी मैदानमा देखिएका छन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले निजी क्षेत्रको लगानी र नियन्त्रणमा रहेको नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न उनीहरू चुनावी मैदानमा उत्रिएको बताउनुभयो।

वरिष्ठ उपाध्यक्ष सिटौलाका अनुसार कांग्रेसबाट महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली–२, पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ र वरिष्ठ व्यवसायी भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएका छन्। त्यस्तै, रास्वपाबाट कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट उम्मेदवारी दिनुभएको छ। 

उहाँले नेपाली नागरिकले सबैभन्दा बढी प्रयोग गर्ने सेवा सार्वजनिक यातायात भए पनि संसद्मा त्यस क्षेत्रको प्रतिनिधित्व नहुँदा यातायात क्षेत्रका आवाज नसुनिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘नीति बनाउने ठाउँमा यातायात क्षेत्रको प्रतिनिधित्व नहुँदाकै कारण नेपालको अत्यन्त ठूलो लगानी भएको तथा मुलुकको आर्थिक समृद्धिको वाहकका रूपमा रहेको यातायात क्षेत्र अस्तव्यस्त भएको छ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.