
काठमाडौं । कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा रुपेश श्रेष्ठ नियुक्त हुनु भएको छ । श्रेष्ठलाई व्यवस्थापन समितिको निर्णयअनुसार आज समाचार प्रमुखमा नियुक्त गरिएको हो। उहाँ गत असोजदेखि निमित्त समाचार प्रमुखको भूमिकामा रहनुहुन्थ्यो ।
कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले परिवर्तित परिस्थितिमा समाचार कक्षको नेतृत्वमा रहेर श्रेष्ठले कान्तिपुर टेलिभिजनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। श्रेष्ठ दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
उहाँसँग कान्तिपुर टेलिभिजनबाहेक अन्य सञ्चारमाध्यममा पनि फरक-फरक भूमिकामा काम गरेको अनुभव छ । श्रेष्ठले पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गर्नु भएको छ । श्रेष्ठ चर्चित कार्यक्रम फायरसाइडको प्रस्तोतासमेत हुनुहुन्छ ।