नेपाली पुरूष फुटसल टिमले बंगलादेशलाई हरायो

माघ १०, २०८२ |खेल ब्युरो
नेपाली पुरूष फुटसल टिमले बंगलादेशलाई हरायो

काठमाडौं । साफ फुटसल च्याम्पियनसिप-२०२६ मा नेपाली पुरूष फुटसल टिमले बंगलादेशलाई हराएको छ। 

शनिबार भएको खेलमा नेपाल ४-१ ले विजयी भएको हो। दुई खेलअघि रातो कार्डको प्रतिबन्धमा परेका सरोज तामाङ शनिबार खेलमा फर्किएका थिए। उनले एक गोलको योगदासमेत गरेका थिए। नेपालले खेलको छैटौं मिनेटमा गोल गरेको थियो। 

लाक्पा तामाङले नेपाललाई ब्रेक-थ्रु दिलाएका थिए। खेलको पहिलो हाफमा नेपालले त्यहीँ एक गोलको अग्रता बनायो। दोस्रो हाफको २९औं मिनेटमा सराजले गोल गरेर अग्रता दोब्बर पारेका हुन्। तर ३४औं मिनेटमा बंगलादेशका लागि मोहम्मद रहबार खानले गोल गर्दै स्कोरलाई २-१ को प्रतिस्पर्धात्मक अवस्थामा लगेको थियो। तर नेपालले अट्याकमा दबाब बनाएर ३५ र ३७ औं मिनेटमा गोल गर्यो। 

सन्जे स्याङ्तान र विक्रान्त नरसिंह रानाले गोल गरेर खेललाई ४-१ मा समाप्त गरेका हुन्। खेलको एक मिनेट मात्रै बाँकी रहँदा मोहम्मद तुहिनले रातो कार्ड व्यहोरे। यससँगै बंगलादेश दबाबमा परेको थियो। आजको खेलमा जिते पनि नेपाल यसअघि नै च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिसकेको टोली हो। नेपाले आफ्नो अन्तिम खेलमा सोमबार भुटानको सामना गर्नेछ।