
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा आयोजक नेपालले पहिलो जित हात पारेको छ ।
आफ्नो तेस्रो खेलमा नेपालले शनिबार जिम्बाब्वेलाई ६ विकेटले पछि पारेको हो । यस जितसँगै नेपालले सुपर सिक्समा पुग्ने सम्भावनालाई जीवित राखेको छ भने समूह 'बी'मा सबै चार खेल गुमाएको जिम्बाब्वेले जितविहीन रहँदै नेपाल यात्रा टङ्ग्याएको छ । ऊ यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।
कीर्तिपुरस्थित त्रिवि रंगशालामा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिला ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमनाएर १ सय २९ रनको योगफल तयार पारेको थियो । पहिलो ओभरको तेस्रो बलमा कविता कुँवरले जिम्बाब्वेकी कप्तान चिपो मुगेरी-टिरिपानोलाई ८ रन बनाएको अवस्थामा क्लिन बोल्ड गरेपछि नेपालले अर्लि ब्रेक थ्रु पाएको थियो ।
१४ रन बनाएकी मोडेस्टर मुपा-चिक्वा सीता राना मगरको एल्बीडब्ल्यू धरापमा परिन् । विलोम्ड बिजाले ३५ बलमा ३४ रनको योगदान दिइन् । उनलाई पूजा महतोले पेवलियन फर्काएकी थिइन् । केलिस एनध्लोभुले ३६ बलमा ८ चौकासहित ५२ रनको आक्रमक इनिङ्स खेलिन् । उनी अन्त्यसम्म क्रिजमै टिकिरहिन् ।
नेपालका लागि रिया शर्माले २ तथा कविता, पूजा महतो, सीता राना मगर र रूविना क्षेत्रीले १-१ विकेट लिए । जवाफमा १ सय ३० रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्यो । ओपनर सम्झना खड्का ९ र बिन्दु रावल १५ रनमा आउट भए ।
तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजा महतोले ३५ रनको साझेदारी गरे । इन्दु २२ रनमा बाहिरिइन् । २३ बलमा २ चौका र १ छक्का प्रहार गरेकी इन्दुले जारी प्रतियोगितामा पहिलो पटक दोहोरो अंकमा रन बनाएकी हुन् । हार्ड हिटर कविता जोशीले १ रन मात्र थप्न सकिन् । १६औं ओभरको दोस्रो बलमा एक र बनाएसँगै सीता राना मगरले १ हजार टी-२० आई रन पूरा गरिन् ।
उनले ६६ खेलको ६२ इनिङ्समा यो उपलब्धी हासिल गरिन् । सीता कप्तान इन्दु बर्मा र पूर्व कप्तान रुविना क्षेत्रीपछि यो उपलब्धी हासिल गर्ने तेस्रो नेपाली महिला खेलाडी हुन् । अघिल्लो खेलमा नेदरल्यान्ड्सविरूद्ध रूविनाले १ हजार टी-२० आई रन पूरा गरेकी थिइन् । कप्तान इन्दु १ हजार टी-२० आई रन बनाउने पहिलो नेपाली महिला ब्याटर हुन् । सीता ११ रन बनाएर रिटायर्ड हर्ट भइन् ।
पूजाले ५२ रनको अविजित अर्धशतकीय इनिङ्स खेलिन् । टी-२० आईमा यो उनको तेस्रो अर्धशतक हो । साथै उनी नेपालका लागि टी-२० आईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । जारी प्रतियोगितामा नेपाली खेलाडीले प्रहार गरेको यो पहिलो अर्धशतक हो ।
जिम्बाब्वेका लागि जोसेफिन न्कोमोले २ विकेट हात पारिन् । नोम्वेलो सिबांडा र क्रिस्टेबेल चाटोन्ज्वाको नाममा समान १-१ विकेट रह्याे । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सोमबार स्कर्टल्यान्डसँग खेल्ने छ । यस खेलमा राम्रो रनसहित जित हात पारे नेपाल सुपर सिक्समा पुग्नेछ ।