श्रीलंकाविरूद्ध नेपालकाे सान्त्वना जित

माघ १०, २०८२ |खेल ब्युरो
श्रीलंकाविरूद्ध नेपालकाे सान्त्वना जित

काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकप २०२६ को तयारीका लागि श्रीलंक भ्रमणमा रहेको नेपालले श्रीलंकाविरूद्ध सान्त्वना जित हात पारेको छ ।

घरेलु टोलीविरूद्ध सुरूआती २ खेल गुमाएको नेपालले तेस्रो अभ्यास खेलमा ७ विकेटको जित हात पारेको हो । यससँगै श्रीलंका 'ए'ले अभ्यास सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ । कोलम्बोस्थित कोल्ट्स क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरूआतमा ब्याटिङ गरेको श्रीलंका 'ए' ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्न सक्यो । 

उसका लागि कप्तान नीरोसन डिकवेलाले ३३ रन बनाए भने लासिथ क्रसपुलीले २१ र करुणारत्नेले सर्वाधिक ३८ रनको योगदान दिए । नेपालका लागी सेर मल्लले ४ ओभरमा २० रन खर्च गरेर ४ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले २ विकेट हात पारे । कप्तान रोहित पौडेल र नन्दन यादवले समान १-१ विकेट लिए ।

१ सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर २ बलमा केवल ३ विकेट गुमाएर जित हासिल गर्यो । आसिफ शेख ११ र रोहित १९ रनमा आउट भए । दिपेन्द्र २२ र आरिफ शेख २४ रनमा नटआउट रहे । घरेलु टोलीका लागि सोनल दिनुसाले २ विकेट हात पारे । 

यससँगै विश्वकपका लागि नेपालले श्रीलंकामा गर्ने तयारी पूरा भएको छ । टोली अब भारत प्रस्तान गर्ने छ । जहाँ जनवरी २७ र २८ मा भारतमै अभ्यास गर्ने कार्यक्रम छ भने मुम्बई क्रिकेट एशोसिएशनको एमसीए प्रेसिडेन्ट-११ सँग दुई टी-२० अभ्यास खेल खेल्ने तालिका छ । 

पहिलो खेल जनवरी २९ र दोस्रो अभ्यास खेल जनवरी ३१ तारिखमा हुनेछन् । दोस्रो खेल डे-नाइट हुनेछ । टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरूआत गर्नेछ ।