टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ पुलिस र एपीएफकाे विजयी सुरूआत

माघ १०, २०८२ |खेल ब्युरो
टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ पुलिस र एपीएफकाे विजयी सुरूआत

काठमाडौं । पोखरामा भइरहेको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई चार सेटमा हराएको छ। 

शनिबार भएको अर्को खेलमा एपीएफ क्लबले थाइल्यान्ड क्विन्सलाई पाँच सेटमा हराएको हो। शनिबार बिहान भएको खेलमा एक सेटले पछि परेको पुलिसले ३-१ को पुनरागमन जित निकालेको हो। खेलको पहिलो सेट खासै प्रतिस्पर्धात्मक भएन्। स्पाइक र ब्लकमा निकै राम्रो प्रदर्शन गरेको आर्मीले पहिलो सेट २५-१६ ले जितेको थियो। 

दोस्रो सेटको सुरूआतमा आर्मीले अग्रता बनाएको भए पनि पुलिसले २५-१७ को जित निकाल्यो। यससँगै दुवै टिमले एक-एकको बराबरी गरेका थिए। तेस्रो सेटको सुरूमा बराबरी अघि बढे पनि पुलिसले आर्मीलाई धेरै पछि छोडेको थियो। उसले, एक समय १५-९ को अग्रता बनायो। अन्तिमसम्म आर्मीले पुनरागमनको मौका खोजिरहेको भए पनि पुलिस २५-२२ ले विजयी भएको हो।

चौथो सेट भने एकपक्षीय बन्यो। पुलिस म्याच पोइन्टमा रहेको अवस्थामा आर्मीले सर्भिस मिस गरेपछि पुलिस विजयी भएको हो। आजको जितसँगै पुलिसले पहिलो तीन अंक जोडेको छ भने आर्मीले लगातार दोस्रो हार व्यहोरेको छ। शुक्रबारको भएको खेलमा आर्मी न्यू डायमन्डसँग पराजित भएको थियो।

यसैगरी शनिबारको दोस्रो खेलमा विभागीय टिम एपीएफले थाइल्यान्ड क्विन्सलाई हराएको छ। प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा एपीएफले २५-२३ को साँघुरो जित हाासिल गरेको थियो। यसैगरी, दोस्रो सेटमा लगातार अग्रता बनाएको थाइल्यान्डविरूद्ध एपीएफले १८-१८ का कमब्याक गरेको थियो। 

त्यसपछि एपीएफले २५-२१ को जित हाासिल गरेको हो। लगातार दुई सेट हारेको थाइल्यान्डले तेस्रो सेटमा भने २५-२२ को जित निकालेको हो। चौथो सेटमा एक समय १६-१६ को बराबरी भएको थियो। सेट पाेइन्टमा उत्कृष्ट स्पाइकका साथ थाइल्यान्डले २-२ को बराबरी गरेको थियो। 

यससँगै खेल पााच सेटमा पुगेको हो। रोमाञ्चक पाँचौं सेटमा १५-१३ को जितसँगै एपीएफ विजयी भएको हो। पहिलो जितसँगै उसले दुई अंक जोडेको छ। पराजयका बाबजुद थाइल्यान्डको २ अंक छ।