बंगलादेश प्रिमियर लिगको उपाधि राजशाही वारियर्सलाई

माघ १०, २०८२ |खेल ब्युरो
बंगलादेश प्रिमियर लिगको उपाधि राजशाही वारियर्सलाई

काठमाडौं । बंगलादेश प्रिमियर लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर संदिप लामिछाने सम्मिलित राजशाही वारियर्सले जितेको छ । 

फाइनलमा राजशाहीले चट्टोग्राम रोयल्सलाई ६३ रनले पराजित गरेको हो । मिरपुरस्थित सेरे बंगला नेसनल स्टेडियममा चट्टोग्रामले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । फाइनलमा स्पिनर संदिप भने प्लेइङ इलाभेनमा थिएनन् । राजशाहीले २० ओभरमा चार विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । 

उसका लागि तान्जिद हसनले शतकीय इनिङस खेले । हसनले ६२ बलमा एक सय रन बनाएपछि राजशाहीले बलियो लक्ष्य प्रस्तुत गरेको थियो । साहिबजादा फरहानले ३०, केन विलियम्सनले २४ रन बनाउँदा जेम्मी निसम सात रनमा अविजित रहे । कप्तान नाज्मुल हुसेन स्यान्टो ११ रनमा आउट भएका थिए । 

सोरिफुल इस्लाम र मुकिदुल इस्लामले २-२ विकेट लिए । जवाफमा चट्टोग्राम १७ ओभर पाँच बलमा १ सय ११ रनमा अल आउट भयो । मिर्जा बेगले सर्वाधिक ३९ र आसिफ अलीले २१ रन बनाएका थिए । कुनै पनि खेलाडीबीच गतिलो साझेदारी नहुँदा चट्टोग्रामको इनिङस कमजोर बनेको हो । 

राजशाहीले उत्कृष्ट बलिङ प्रदर्शन गर्यो । बिनुरा फर्नान्डोले तीन ओभरमा मात्र नौ रन दिएर चार विकेट लिए । हसन मुरादको नाममा तीन विकेट रह्यो । निसमले दुई विकेट हात पारे । संदिपले कुनै पनि फ्रेन्चाइजी क्रिकेटको उपाधि जितेको यो पहिलो पटक हो । अब उनी आइसीसी टी-२० विश्वकप खेल्ने नेपाली टिममा समावेश हुनेछन् । हाल नेपाली टिम विश्वकप तयारीका लागि श्रीलङकामा छ ।