निकास र विकाससँगै पूर्ण स्वायत्त प्रदेश जनमत पार्टीको मुख्य एजेन्डा

मलाई जनताको भरोसा र आशिर्वाद छ, विजयी गराउनुहुन्छ : सीके राउत
माघ १०, २०८२ |आरएन विश्वास
निकास र विकाससँगै पूर्ण स्वायत्त प्रदेश जनमत पार्टीको मुख्य एजेन्डा

राजविराज । जनमत पार्टीले आउँदो चुनावलाई लक्षित गर्दे पार्टीको मुख्य एजेन्डाको रूपमा निकास र विकास तथा पूर्ण स्वायत्त प्रदेश राखेको छ।

राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रोजगारीसहितका एजेन्डाहरूमा कामहरू भइरहेको भन्दै पूर्ण स्वायत्त प्रदेश नभएसम्म देश-प्रदेशको समुचित विकास हुन नसक्ने बताउनुभयो।

आफुहरूले नै पहिलोपटक मुलुकमा प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्रीसहित अख्तियार, निर्वाचन आयोगका प्रमुखको नियुक्ति पनि खुला निर्वाचन हुनुपर्ने आवाज उठाएको बताउनुहुँदै अध्यक्ष राउतले उक्त विषय जेन-जी आन्दोलनले थप उठान भए पनि हाललाई मेटाउने प्रपञ्च भइरहेको दाबी गर्नुभयो।

रास्वपाप्रति इंकित गर्नुहुँदै सप्तरी-२ का उम्मेदवार समेत रहनुभएका अध्यक्ष राउतले विगतमा संघीयता, प्रदेश र नागरिकता विधेयकको विरोध गर्ने दलले अहिले मधेशमा भोट बटुल्न एउटा पात्र खडा गरेर मधेश विद्रोहको उपलब्धी मेटाउन लागि परेको दाबीसमेत गर्नुभयो।

जनमत पार्टीसँग जनताको बहुत अपेक्षा रहेको र अघिल्लो निर्वाचनमा १ सिट मात्रै प्रत्यक्ष जिताएर सबै अपेक्षा २-३ वर्षमै पूरा गर्न नसकिने भएको बताउनुहुँदै अध्यक्ष राउतले जनताकै माग बमोजिम ६ सय बढी योजना आफ्नो क्षेत्रमा ल्याएको तथ्यांकसमेत पत्रकार सम्मेलनमा सर्वजनिक गर्नुभयो।

अघिल्लो निर्वाचनको तुलनामा अहिले आफ्नो पार्टी संगठन विस्तार भएकाले जनताले आफूसहित २०-२५ सिट जिताउने दाबी समेत जनमत अध्यक्ष राउतले गर्नुभयो।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।