
महोत्तरी । सिमावर्ती क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रका मतदाताहरू फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उत्साहित देखिएका छन् ।
महोत्तरीका संवेदनशिल मतदान केन्द्रहरूको शनिबार स्थलगत अनुगमनको क्रममा सिमावर्ती ग्रामीण क्षेत्रको मतदातामा ज्यादै नै उत्साह देखिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनु भयो । जिल्लाका सम्पुर्ण सुरक्षा निकायसहित सिमावर्ती र बढी जोखिममा रहेको जिल्लाको ग्रामीण क्षेत्रहरूको मतदान केन्द्रहरूको अनुगमनमा जाँदा मतदातामा ज्यादै नै उत्साहित रहेको अनुगमन टोलीले बताए ।
अनुगमन टोलीद्वारा मनरासिस्वा-५ श्री जनता माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय सहसराम, मनरासिस्वा-५ स्थित विद्यालय, मनरासिस्वा-१ स्थित विद्यालय, सार्वजनिक धर्मशााला, वडा कार्यालय, नेपाल राष्ट्रिय आधारभुत विद्यालय बथनाहा मुसहरी टोल, भै.गो.ल.ज माध्यमिक विद्यालय मनरासिस्वा-१०, राष्ट्रिय जनता आधारभुत विद्यालय मरूवाही, श्री जनता माध्यमिक विद्यालय एकडारा-४ हलखोरीमा रहेको मतदातन केन्द्रहरूको स्थलगत अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयाे, 'अनुगमनको क्रममा दशगजामै पर्ने कतिपय मतदान केन्द्र सुरक्षाको लागि संवेदनशील देखिएको छ । त्यसअनुसार सुरक्षा योजना तयार पार्ने उद्देश्यका साथ जिल्लाका सम्पुर्ण सुरक्षा निकायसहित अनुगमन गरेका हौं ।'
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन प्रशासनले सीमा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै निरीक्षण अनगुमन तदारूक्ता साथ अगाडी बढाएइएको छ । अनुगमन टोलीले मतदान केन्द्रहरूको भौतिक अवस्था, सुरक्षा प्रवन्ध, मतदाताको सहज पहुँच तथा आवश्यक पूर्वतयारीको अवस्थाबारे जानकारी लिएका थिए ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको उपस्थिति, आवतजावतको बारेमा समेत अवलोकन गरिएको हो । सीमावर्ती क्षेत्रमा मात्र नभइ जिल्लाको दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको पनि यसैगरी नियमित अनुगमन गरेर निर्वाचनलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने तयारी भई रहेको छ ।
खुल्ला सीमा भएकोले सिमावर्ती मतदान केन्द्रहरूमा हुन सक्ने विभिन्न खालको अपराध र अवरोध गर्नेहरूलाई समेत निगरानी बढाउने गरी अनुगन थालिएको जनाइएको छ ।