गगन थापाको प्रतिबद्धता : ‘सर्लाही-४ का मतदातालाई पछुतो हुन दिनेछैन’

माघ १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
गगन थापाको प्रतिबद्धता : ‘सर्लाही-४ का मतदातालाई पछुतो हुन दिनेछैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले संसद्‌मा मधेशको मुद्दालाई फरक ढंगले उठान गर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफू सर्लाही क्षेत्र नम्बर-४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेकोले मधेश र सर्लाहीका मुद्दा अब संघीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताउनु भयो । उहाँले सर्लाही-४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाउनु भयो । 

आगामी पाँच वर्षमा मधेशका मुद्दा संसद्‌मा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उहाँको दाबी छ । आफू पार्टीको जिम्मेवारीका कारण सधैं सर्लाहीमा बस्न नसक्ने बताउनुहुँदै उहाँले आफूलाई मतदाताले पुर्ण रूपमा विश्वास गर्ने बताउनु भयो । 

उहाँले पार्टीका नेता कार्यकर्तालाई निर्वाचनमा खटिएर लाग्न आग्रह गर्नुभयो । आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आकलन नगर्न उहाँले सचेत गराउनु भयो । चुनाव जित्न सबैको मेहनत आवश्यक हुने भन्दै उहाँले मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न निर्देशन समेत दिनुभयो ।

उहाँले आफू गर्नसक्ने कामको मात्रै वाचा गर्ने बताउनु भयो । गर्न नसकिने कामलाई आफूले सुरूमा नै गर्न नसक्ने बताउने उहाँले स्पष्ट पार्नुभयो । उहाँले चुनावपछि पनि मतदाताहरूले आफूलाई सजिलै भेट्न सक्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.