
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सधैं सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने गरेको बताउनुभएको छ ।
शनिबार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले पार्टी र निर्वाचन दुवैतिर अफ्ठ्यारो बाटो रोजेको बताउनु भयो । उहाँले पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोज्दा पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको बताउनु भयो ।
विशेष महाधिवेशनमा पार्टीको कार्यकर्ताले दिएको साथले नै आफू पार्टीभित्रै रहन सफल भएको उहाँको भनाइ छ । उहाँकाअनुसार विशेष महाधिवेशनमा समर्थन नपाएको भए आज आफू निष्कासित सदस्यका रूपमा जनतामाझ उभिनुपर्ने अवस्था आउने थियो ।
उहाँले आगामी निर्वाचनमा पनि काठमाडौंको क्षेत्र नम्बर ४ आफ्नो लागि सहज भए पनि जानाजानी अफ्ठ्यारो बाटो रोजेको बताउनु भयो । काठमाडौं वा सर्लाहीबाट उम्मेदवार बन्ने विषयमा चर्चा भइरहँदा अन्य दलहरूले काठमाडौंमा उम्मेदवार समेत नछानेको उल्लेख गर्नुहुँदै उहाँले काठमाडौं आफ्नो लागि धेरै सहज निर्वाचन क्षेत्र भएको टिप्पणी गर्नुभयो ।
उहाँले काठमाडौं बाहिर जानुपर्छ भन्ने आफ्नो अठोटले यसपटक सर्लाही क्षेत्र नम्बर ४ रोजेको बताउनु भयो । उहाँले अघिल्लो पटक नै काठमाडौं बाहिर जाने रहर भए पनि त्यस्तो निर्णय गर्ने आँट नपुगेको स्वीकार गर्नुभयो । यसपटक जोखिम लिन तयार भएको उहाँले बताउनु भयो ।
आफ्नो पारिवारिक पृष्ठभूमि उल्लेख गर्नुहुँदै सभापति थापाले आफूले पहाड र सहर दुवै बुझ्ने अवसर पाए पनि मधेश बुझ्ने अवसर नपाएको बताउनु भयो । राष्ट्रिय नेता बन्नको लागि सिंगो राष्ट्रलाई आफूभित्र समेट्न सक्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले मधेश बुझनको लागि आफू सर्लाही झरेको बताउनुभयो । उहाँले सर्लाहीबाट सम्पूर्ण मधेस बुझ्ने प्रयास गर्ने बताउनु भयो ।
उहाँले काठमाडौं क्षेत्र नम्बर-४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आफू ऋणी रहेको उल्लेख गर्नुभयो । काठमाडौं क्षेत्र नम्बर ४ को सेवामा पनि आफू सधैं समर्पित रहने उहाँले बताउनु भयो ।