
काठमाडौं । नव-जागृति यूवा क्लब क्लबविरूद्ध ५-१ गोल अन्तरको फराकिलो नतिजा हात पार्दै श्री भगवती क्लब टोखाले राष्ट्रिय लिग फुटबलमा जितको खाता खोलेको छ ।
सातदोबाटोस्थित एन्फा क्म्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा श्री भगवतीले प्रभावशाली प्रदर्शन गर्यो । खेलको सुरवातबाट नै नव जागृतिमाथि दबाब सिर्जना गरेको श्री भगवतीले दोस्रो मिनेटमै अग्रता बनायो । मार्टिन्स कायोडे अजाईले उत्कृष्ट गोल गरे । ३८औं मिनेटमा कप्तान शिशिर लेखीले पेनाल्टीमार्फत गोल गर्दै श्री भगवतीको अग्रता दोब्बर पारे ।
त्यसलगत्तै, युवा फरवार्ड सुवास बम ठकुरीको गोलमार्फत श्री भगवतीले तेस्रो गोल थप्यो । सनोज श्रेष्ठको टोलीले दोस्रो हाफमा पनि आग्रमणलाई तिव्रता दियो । ५४औं मिनेटमा सिमान्त थापाको गोलमार्फत श्री भगवतीले अग्रता ४-०मा पुर्यायो । ५८औं मिनेटमा शिशिरले आफ्नो व्यक्तिगत दोस्रो गोल गरे ।
७७औं मिनेटमा विक्रम थोकरले जागृतिका लागि सान्त्वना गोल गरे पनि त्यो निकै ढिला भइसकेको थियो । यससंगै श्री भगवती जितको खाता खोल्न सफल भयो । पहिलो खेलमा चर्च बोइजबिरूद्ध बराबरी खेलेको श्री भगवतीले दोस्रो खेलमा जावलाखेलबिरुद्ध हार बेहोरेको थियो । अब श्री भगवतीले सोमबार नेपाल पुलीस क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने जितविहीन जन जागृतिले अर्को बिहीबार चर्च ब्वाईजको सामना गर्नेछ ।