कार्लोस अल्काराज अष्ट्रेलियन ओपनको अन्तिम १६ मा

माघ ९, २०८२ |खेल ब्युरो
कार्लोस अल्काराज अष्ट्रेलियन ओपनको अन्तिम १६ मा

काठमाडौं । विश्व नम्बर एक टेनिस स्टार कार्लोस अल्काराजले आफ्नो एक सयौं ग्रान्डस्लाम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियन ओपनको अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् ।

शुक्रबार रोड लेभर एरेनामा भएको खेलमा २२ वर्षीय स्पेनीस खेलाडीले फ्रान्सका कोरेन्टिन माउटेटलाई सोझो सेटमा पराजित गरे । दुई घन्टा पाँच मिनेटसम्म चलेको खेलमा अल्काराजले ६-२, ६-४ र ६-१ को सहज जित हात पारेका हुन् । ६ पटकका ग्रान्डस्लाम विजेता अल्काराज सुरूदेखि नै आक्रामक देखिए । 

पहिलो सेट मात्र ३५ मिनेटमा आफ्नो पक्षमा पारेका उनले दोस्रो सेटमा केही चुनौती झेले पनि अनुभव र स्थिरताले खेल नियन्त्रणमा राखे । तेस्रो सेटमा भने उनले माउटेटलाई कुनै मौका दिएनन् । यो अल्काराजको एक सयौं ग्रान्डस्लाम उपस्थिति थियो । यस क्रममा उनले ८६ खेल जितेका छन् भने मात्र १३ खेलमा हारको सामना गरेका छन् । जुन महान खेलाडी ब्योर्न बोर्गको सुरूआति करिअरको कीर्तिमानसँग बराबरी हो ।

अब अल्काराजले क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकी १९औं वरियताका टोमी पलसँग भिड्नेछन् । स्पेनी खेलाडी अलेहान्द्रो डाभिडोभिचले चोटका कारण वाक ओभर दिएपछि पल अघि बढेका हुन् । अल्काराज यसअघि मेलबर्न पार्कमा क्वार्टरफाइनलभन्दा माथि पुग्न सकेका छैनन् । 

अष्ट्रेलियन ओपन मात्र उनको ग्रान्डस्लाम संग्रहमा नथपिएको एकमात्र उपाधि हो । अल्काराजले यस पटक उपाधि जिते उनी चारै ग्रान्डस्लाम जित्ने सबैभन्दा कान्छा पुरूष खेलाडी बन्नेछन् ।