
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत सभापति चयन भएको नाै दिनपछि गगन थापा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पदबहाली गर्नुभयो ।
सभापतिबाट देउवाको वहिर्गमनसँगै पार्टी कार्यालय तरूण दलको निगरानीमा थियो । तर सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नमानेपछि देउवा पक्षका तरूण दलले केन्द्रीय कार्यालय कुर्न छाडिदिए । जसका कारण थापा नेतृत्वको कार्यसमितिलाई केन्द्रीय कार्यालय पुग्न सहज भयो । कार्यकर्ताको उत्साहित भीडले घेरे पनि पूर्वपदाधिकारीको अनुपस्थितिले नवनिर्वाचित सभापति थापा रित्तो देखिएको धेरैले अनुभूत गरे ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। तर बिहान १० बजेदेखि नै कार्यकर्ताको चहलपहल सुरू भइसकेको थियो । १२ बज्दासम्म कार्यालय कार्यकर्ता र समर्थकले खचाखच भरियो । यो उपस्थिति उत्साह मात्रै थिएन, सानेपा अब हाम्रो नियन्त्रणमा छ भन्ने शक्ति–प्रदर्शनको आभाष पनि थियो।
यो भीडको एउटै पर्खाइ थियो-नवनिर्वाचित सभापति गगन थापा । करिब दिउँसो २ बजेतिर सभापति थापा पार्टी कार्यालय प्रवेश गर्नुभयो। उत्साहित नेता-कार्यकर्ता र समर्थकको बाक्लो भीडका कारण कार्यकक्षसम्म पुग्न उहाँलाई हम्मेहम्मे पर्यो। जेन-जी आन्दोलनपछि जलेको पार्टी कार्यलयमा हतारमा तयार पारिएको सभापतिको कार्यकक्षमा पूजा गरेर सभापति थापाले पदबहाली गरे ।
उपसभापति विश्वप्रकाश शर्माले सभापतिलाई कुर्सीमा लगेर बसाउनु भएको थियो । 'बदल्यौं कांग्रेस, बदल्छौं देश” भन्ने माइन्युटमा हस्ताक्षर गरेसँगै थापाको कार्यकाल औपचारिक रूपमा सुरू भयो । तर कार्यकर्तामा देखिएको उत्साह र सभापति थापाको जोशका बीच दृश्यले भने अपुरोपनको सन्देश दिइरहेको थियो ।
एकातिर सानेपामा उर्लिएको थापा पक्ष, अर्कोतिर मौन तर असन्तुष्ट अनुपस्थित देउवा-शेखर पक्ष । विशेष महाधिवेशनले सभापति त चयन गर्यो, तर कांग्रेसभित्रको सहमति निर्माण गर्न असफल रह्यो । देउवा पक्ष सत्ता गुमाएको पीडामा छ भने, शेखर कोइराला पक्ष नेतृत्व प्रक्रियामै असन्तुष्ट देखिन्छ । यसको परिणाम-सानेपामा थापा एक्लै देखिएका छन्, तर कार्यकर्ताको उत्साहले उनको एक्लोपनलाई फिका बनाइरहेझै लाग्ने ।
विगतमा पदभार ग्रहण वा प्रमाणपत्र वितरणका बेला निवर्तमान सभापति र शीर्ष नेताहरूको उपस्थिति रहने गर्थ्यो। तर यसपटक दृश्य ठीक उल्टो देखियो। सभापति थापा पदबहाली गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता शेखर कोइरालालगायत अधिकांश शीर्ष नेताहरू उपस्थित देखिएनन्।
सिंगो पार्टीको सभापति पदभार ग्रहण गर्दा थापा पक्षधरको मात्रै उपस्थिति हुनु कांग्रेसमा मतभेद मात्र होइन, मनभेद गहिरो छ भन्ने सन्देशका रूपमा बुझिएको छ । केन्द्रीय उम्मेदवार बनाउने निर्णय गरेपछि मूलढोका उभिएर सभापति थापाले निवर्तमान सभापतिलाई सम्झिए ।
सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा बसेको कुर्सीमा बसेका थापा सजिलै बसे । तर जिम्मेवारी निर्वाह गर्न अन्यन्त चुनौतीपूर्ण छ । थापा नियमित प्रक्रियाबाट कांग्रेस सभापति बनेर सानेपा पुग्नु भएको होइन, विशेष महाधिवेशनले पार्टीभित्र शक्ति सन्तुलनभन्दा पनि भावनात्मक विभाजन गहिरो बनाइदिएको छ ।
थापाका लागि सभापतिको कुर्सीमा बस्नु जति सजिलो देखियो, कांग्रेसलाई एक ढिक्का बनाउनु त्यत्तिकै कठिन चुनौती बनेर उभिएको छ ।