
काठमाडौं । माघ २२ गतेदेखि सुरू हुने २६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक धरान फुटबल क्लबले फागुन २ गतेसम्म धरान रंगशालामा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । स्वदेशी तथा विदेशी गरी १० टिम सहभागी हुने प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लबले भारतको जर्जियन फुटबल क्लबको सामना गर्नेछ ।
त्यस्तै, माघ २३ गते भुटानको रोयल थिम्पु फुटबल क्लब र झापा-११ बीच दोस्रो प्रि-क्वार्टरफाइनल खेल हुनेछ । क्वार्टरफाइनल चरणमा माघ २४ गते प्लानिङ ब्वाईज युनाइटेड र साबिक बिजेता न्यू रोड टिम एनआरटी प्रतिस्पर्धा गर्ने छन् । माघ २५ गते नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड तथा माघ २७ गते झापा-११ र रोयल थिम्पुबीचको विजेतासँग सातदोबाटो युथ क्लबले प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, माघ २६ गते उद्घाटन खेलको विजेताले लालिगुराँस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् । प्रतियोगिताको फाइनल खेल फागुन २ गते शनिबार सम्पन्न हुनेछ ।