.png&w=1000&height=550)
काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले दोस्रो जित हात पारेको छ ।
थाइल्यान्डको बैंककस्थित नोथानबुरी रंगशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानविरूद्ध ५-१ गोल अन्तरको एकतर्फी जित हात पारेको हो । नेपालको जितमा मनिषा थापा मगर निर्णायक बनिन् । पुरै खेल अवधिभर नेपालले पाकिस्तानमाथि दबाब बनायो ।
आक्रामक फुटसल खेलेको नेपालले तेस्रो मिनेटमै मनिषाको गोलमार्फत अग्रता बनाएको थियो । कप्तान दिपा राईको सट पाकिस्तानी कप्तान जाहारा बोकारीसँग डिफ्लेक्ट हुँदा मनिषाले गोलको खाता खोलेकी हुन् । १०औं मिनेटमा जेनेफर रानाको असिस्टमा मनिषाले व्यक्तिगत दोस्रो गोल गरिन् । लगत्तै, जेनेफरको प्रहार पोष्टमा लाग्दा नेपालले अग्रता फराकिलो बनाउने अवसर गुमाएको थियो ।
पहिलो हाफमा नेपालको आक्रमणले पाकिस्तानको रक्षापंक्ति र गोल रक्षकलाई निकै व्यस्त राख्यो । १६औं मिनेटमा रोशनी बोहोराको गोलमार्फत नेपालले ३ गोलको अग्रता बनायो । दोस्रो हाफको सुरवातमै आज्वा चौधरीले गोल गर्दै पास्तिाका लागि झिनो आशा देखाइन् । तर, ३२औं मिनेटमा कप्तान दिपा राईले गोल गरेपछि पाकिस्तान थप दवावमा पर्यो । त्यसको २ मिनेटपछि अनिता केसीको असिस्टमा जेनेफरले गोल गर्दै नेपालको सानदार जित सुनिश्चित गरिन् ।
जितसँगै नेपाले ५ खेलमा २ जितसहित ७ अंक जोडेको छ । ५ खेलमा पाकिस्तानको समान ७ अंक रहेपनी गोल अन्तरमा नेपाल भन्दा पछि छ । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ । नेपाललाई तालिकाको शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्न यस खेलमा जितसहित अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्नेछ ।