कार्लोस अल्काराज अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

माघ ७, २०८२ |खेल ब्युरो
कार्लोस अल्काराज अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

काठमाडौं । स्पेनका युवा स्टार टेनिस खेलाडी कार्लोस अल्काराज अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । 

बुधबार मेलबर्नस्थित रोड लेभर एरिनामा भएको दोस्रो चरणको खेलमा उनले जर्मनीका यानिक हान्फमनलाई सोझो सेटमा पराजित गरेका हुन् । पहिलो चरणमा अस्ट्रेलियाका एडम वाल्टनलाई सजिलै पराजित गरेका अल्काराजलाई यसपटक हान्फमनले कडा चुनौती दिएका थिए । 

पहिलो सेटमा अल्काराज १-३ ले पछि परे पनि खेलमा फर्किँदै टाइब्रेकसम्म पुर्‍याए । टाइब्रेकमा अनुभव र धैर्य देखाएका अल्काराजले ७८ मिनेट लामो पहिलो सेट आफ्नो पक्षमा पारे । दोस्रो सेटमा उनले बलको गति र सटीकतालाई प्रभावकारी रूपमा प्रयोग गर्दै हान्फमनमाथि दबाब बढाए । सुरूवातमै ब्रेक हासिल गरेका अल्काराजले सेट ६-३ ले आफ्नो नाममा गरे ।

तेस्रो सेट सुरू हुनु अघि हान्फमनले मेडिकल टाइम आउट लिएका थिए । त्यसको पूरा फाइदा उठाएका अल्काराजले लगातार आक्रामक खेल प्रदर्शन गर्दै दोहोरो ब्रेकसहित खेलमा पूर्ण नियन्त्रण जमाए र सहज रूपमा जित सुनिश्चित गरे । समग्रमा उनले ७-६ ६-३ र ६-२ को नलिजा हात पारेका हुन् ।

करियर ग्रान्ड स्लाम जित्ने लक्ष्यसहित मैदान उत्रिएका २२ वर्षीय अल्काराजले यस जितसँगै उपाधि यात्रालाई निरन्तरता दिएका छन्। अब उनले तेस्रो चरणमा फ्रान्सका कोरेन्तिन मोतेसँग प्रतिस्पर्धा गर्नेछन् ।