साफ यू-१९ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

माघ ६, २०८२ |खेल ब्युरो
साफ यू-१९ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिप २०२६ को खेलतालिका सार्वजनिक भएको छ। 

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नै नेपालले भारतको सामना गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ-साफको आयोजनामा हुने प्रतियोगिता माघ १७ देखि माघ २४ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ। माघ १७ गते दिउँसो तीन बजे नेपाल र भारतको खेल हुनेछ। 

उद्घाटन खेलमा भने सोहि दिन दिउँसो बंगलादेशले भुटानको सामना गर्नेछ। प्रतियोगितामा घरेलु टोली नेपालसहित चार देश सहभागी छन्। घरेलु मैदान र दर्शकको समर्थनमा नेपालले विजयी सुरुवात गर्ने लक्ष्य लिएको छ। नेपालले दोस्रो खेल माघ १९ गते भुटानविरुद्ध खेल्नेछ भने लिग चरणको अन्तिम खेल माघ २१ गते बंगलादेशविरुद्ध हुनेछ। 

नेपालका सबै खेलहरू दिउँसो ३ बजे सुरु हुने तालिकामा उल्लेख छ। लिग चरणपछि शीर्ष दुई टोलीबीच माघ २४ गते फाइनल खेल हुनेछ। च्याम्पियनसिपको यो सातौं संस्करण हो। यो उमेर समूहको प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो। साफ च्याम्पियनसिपपछि पोखरा रंगशालामा पोखरा आहा रारा गोल्डकप आयोजना हुने तय छ।