अष्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिइन् एम्मा राडुकानु

माघ ७, २०८२ |खेल ब्युरो
अष्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिइन् एम्मा राडुकानु

काठमाडौं । ब्रिटेनकी शीर्ष महिला टेनिस खेलाडी एम्मा राडुकानु अष्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिएकी छन् । 

२८औं वरीयताकी राडुकानु अस्ट्रियाकी अनास्तासिया पोटा-पोभासँग सोझो सेटमा पराजित भएकी हुन् । मेलबर्नमा भएको खेलमा राडुकानु लयविहीन देखिइन् । उनको मूभमेन्ट र सट छनोट कमजोर रहँदा खेलभरी प्रसस्त अन-फोर्स्ड एरर गरिन् ।

पहिलो सेटमा ५-४ मा सर्भ गर्दा सेट जोगाउन नसकेकी राडुकानु टाइब्रेकमा पछि परिन् । दोस्रो सेटमा डबल फल्ट गर्दै सुरूमै ब्रेक गुमाउँदा खेल पोटापोभाको पक्षमा गयो । समग्रमा ७-६ र ६-२ को हारसहित राडुकानु बाहिरिएकी हुन् । तीन वर्षपछि पहिलोपटक ग्रान्ड स्लाममा वरीयतामा परेकी राडुकानुको तयारी अफ-सिजनमा लागेको खुट्टाको चोटका कारण प्रभावित भएको थियो । 

उनले डिसेम्बर २० पछि मात्र अभ्यास सुरू गरेकी थिइन् । खेलपछि राडुकानुले आफूले चाहेको खेल शैली र अहिलेको प्रदर्शनबीच अन्तर रहेको स्वीकार गरिन् ।