प्रतिनिध सभा सदस्यमा मनोनयन गरेका उम्मेदवारको विरोधमा उजुरी दिने समय सकियो

शुक्रबार अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरिने
माघ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिध सभा सदस्यमा मनोनयन गरेका उम्मेदवारको विरोधमा उजुरी दिने समय सकियो

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिने समय सकिएको छ । 

उम्मेदवारको विरोधमा उजुरी दिन बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको थियो । बुधबार अपराह्न ३ बजेदेखि बिहिबार बेलुका ५ बजेसम्म उम्मेदवारउपर परेको उजुरीमाथि जाँचबुझ गरिने छ । बिहिबार नै साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । 

 माघ ९ गते शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारले १० बजेदेखि १ बजेसम्म फिर्ता लिन सक्नेछन् भने सोही दिन नै अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन भएको छ । 

प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमा हुने चुनावका लागि देशभर ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये पुरूष ३ हजार ८९ र महिला ३ सय ९६ छन् । तेस्रो लिंगी एक जना रहेका छन् । जेन-जी आन्दोलनपछि हुन लागेको निर्वाचनलाई राजनीतिक रूपमा परिवर्तन र रूपान्तरणको जनमतका रूपमा हेरिएको छ ।

यसैबीच निर्वाचनलाई केन्द्रित गरी निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.