दुई पटकका च्याम्पियन यानिक सिन्नर अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा

फ्रान्सेली खेलाडी ग्यास्टन पेटको चोटका कारण बाहिरिए
माघ ७, २०८२ |खेल ब्युरो
दुई पटकका च्याम्पियन यानिक सिन्नर अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा

काठमाडौं । दुई पटकका च्याम्पियन यानिक सिन्नरले अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा स्थान बनाएका छन्। 

मंगलबार राति भएको पहिलो चरणको खेलमा फ्रान्सेली खेलाडी ह्युगो ग्यास्टन पेटको चोटका कारण बाहिरिएपछि सिनरले दोस्रो चरणमा स्थान बनाएका हुन्। रोड लेभर एरिनामा भएको खेलमा सिन्नर पूर्ण रूपमा नियन्त्रणमा देखिएका थिए। उनले पहिलो सेट ६-२ र दोस्रो सेट ६-१ ले जितेका थिए। 

तेस्रो सेट सुरु हुनुभन्दा अघि ग्यास्टनले खेललाई निरन्तरता दिन नसकेपछि रोकिएको हो। पहिलो सेटपछि चिकित्सक बोलाएका ग्यास्टनको चोट गम्भीर हुँदा दोस्रो सेटपछि निरन्तरता दिन सकेनन्। खेलपछि सिन्नरले ग्यास्टन निकै प्रतिभाशाली खेलाडी भएको बताए। ग्यास्टनविरुद्ध सिन्नरको हेड-टु-हेड रेकर्ड अब ३-० पुगेको छ। 

सिन्नर ओपन युगमा लगातार तीन पटक अस्ट्रेलियन ओपन जित्ने दोस्रो खेलाडी बन्ने लक्ष्यमा छन्। यसअघि नोभाक जोकोभिचले सन् २०११ देखि १३ र २०१९ देखि २१ मा यो कीर्तिमान बनाएका थिए। दोस्रो चरणमा २४ वर्षीय सिन्नरले अस्ट्रेलियाली वाइल्ड कार्ड खेलाडी जेम्स डक-वर्थसँग प्रतिस्पर्धा गर्नेछन्। 

अस्ट्रेलियन ओपनमा बुधबार बिहान भएको खेलमा टम्मी पलले थियोगो अगस्टिनलाई हराएका छन्। पहिलो सेटमा ६-३ को जित निकालेका उनले दोस्रो सेटमा ६-४ र तेस्रो सेटमा ६-२ को जितसहित खेल समाप्त गरेका हुन्। यसैगरी एन्डी रूभले-भले ज्यामी फरियालाई चार सेटमा पराजित गरेका छन्। तेस्रो सेटमा ६-४ को जितसहित कमब्याक गरेका ज्यामीलाई चौथो सेटमा टाइब्रेकरमा हराएर रूभलेभ दोस्रो चरणमा प्रवेश गरेका हुन्।