
बाँके । विदेश जानु नै रोजगारीको एकमात्र विकल्प हो भन्ने सोचलाई चुनौती दिँदै बाँकेको खजुरा गाउँपालिकाका एक किसानले आफ्नै माटोमा पसिना बगाएर लाखौँ आम्दानी गरिरहेका छन् ।
टमाटर खेतीबाट उहाँ आफूमात्रै स्वरोजगार हुनुभएको छैन अरूलाई रोजगारी समेत दिइरहुनभएको छ । बाँकेको खजुरा गाउँपालिका-२, सि गाउँका ५० वर्षीय वीरेन्द्रप्रसाद मुराउले व्यवसायिक टमाटर खेतीबाट उदाहरणीय सफलता हासिल गर्नुभएको छ ।
गतवर्ष तीन बिघा जमिनमा टमाटर लगाएर २० लाख रूपैयाँ आम्दानी गरेका वीरेन्द्रले यसवर्ष चार बिघामा खेती विस्तार गर्नुभएको छ। करिब ७ लाख रूपैयाँ लगानी गरेका उहाँले हालसम्म १०० क्विन्टलभन्दा बढी टमाटर उत्पादन गरी ६ लाख ५० हजार रूपैयाँ आम्दानी गरिसक्नुभएको छ । अझै करिब १ हजार क्विन्टल उत्पादन हुने उहाँको अपेक्षा छ ।
टमाटर खेती गरेरै वीरेन्द्रले १० देखि १५ जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । यही व्यवसायबाट उहाँको १० जनाको परिवारको भरणपोषण भइरहेको छ । खाली जमिन र श्रमशक्तिको सही उपयोग गर्न सके विदेशिनुपर्ने बाध्यता नहुने उहाँको विश्वास छ।
कृषिमा लगनशीलता र मेहिनेत गरे सफलता यही सम्भव छ भन्ने उदाहरण बन्नुभएको छ वीरेन्द्रप्रसाद ।