दक्षिणी अफ्रिकी मुलुकहरूमा भीषण वर्षा र बाढी : सयभन्दा बढीको मृत्यु

माघ ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
दक्षिणी अफ्रिकी मुलुकहरूमा भीषण वर्षा र बाढी : सयभन्दा बढीको मृत्यु

काठमाडौं । दक्षिणी अफ्रिकी मुलुकहरू दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेमा निरन्तरको भीषण वर्षा र बाढीका कारण १ सयभन्दा बढी मानिसको ज्यान गएको छ। 

धेरै क्षेत्रमा अझै पनि भारी वर्षाको चेतावनी जारी गरिएको छ। सबैभन्दा बढी क्षति मोजाम्बिकमा भएको छ। त्यहाँको विपद् व्यवस्थापन निकायका अनुसार डिसेम्बरको अन्त्यदेखि सुरु भएको वर्षाका कारण १ सय ३ जनाको मृत्यु भएको छ। बाढी, डुबान, पूर्वाधारमा क्षति, चट्याङ तथा हैजाजस्ता कारणले ज्यान गएको जनाइएको छ। 

विश्व खाद्य कार्यक्रमका अनुसार मोजाम्बिकमा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने हजारौं घर क्षतिग्रस्त भएका छन्। दक्षिण अफ्रिकामा उत्तरी लिम्पोपो र एम्पुमालांगा प्रान्तमा आएको बाढीका कारण कम्तिमा ३० जनाको मृत्यु भएको छ। सेनाले हेलिकप्टरमार्फत छानामा र रूखमा फसेका मानिसहरूको उद्धार गरेको छ। 

राष्ट्रपति सिरिल रामाफोसाले एक साताभित्र करिब ४ सय मिलिमिटर वर्षा भएको र धेरै घर पूर्ण रूपमा बगाएको बताएका छन्। प्रसिद्ध क्रुगर राष्ट्रिय निकुञ्जमा पनि बाढीको ठूलो असर परेको छ। त्यहाँका करिब ६ सय पर्यटक र कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ । 

जिम्बाब्वेमा भारी वर्षाका कारण ७० जनाको मृत्यु भएको छ भने १ हजारभन्दा बढी घरमा क्षति पुगेका छन्। विद्यालय, सडक र पुलजस्ता पूर्वाधारमा पनि गम्भीर क्षति पुगेको छ। यसैगरी मडागास्कर, मलावी र जाम्बियामा पनि बाढीको असर देखिएको छ। अवस्था ला निन्या मौसम प्रणालीका कारण वर्षा भएको मौसमविद्हरुले जनाएका छन् ।