
काठमाडौं । नेपाली कांग्रेसको हालको अवस्थालाई लिएर नेकपा (एमाले)का नेताहरूले चासो व्यक्त गरेका छन् ।
विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेस विभाजित भएको छ । निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिएसँगै यसले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ । कांग्रेसको हालको स्थितिबारे एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विभाजनसम्बन्धी विवादलाई कानुनी र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने बताउनु भयो ।
उहाँले अदालत जान सबै खुला रहेको र अदालतमा आफूलाई ठिक नलागेपछि उजुरी लिएर जान सकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अदालत जान त जसलाई पनि खुला छ नि । अदालत त्यसकै लागि त गठन गरिएको हो । कोही आए भने, उजुरी लिएर कानुनसम्मत छ कि छैन, संविधानसम्मत छ कि छैन भनेर जाने न हो ।’
यता, एमाले उपाध्यक्ष रघुजी पन्तले का्ग्रेसको यो फुटलाई देश, जनता र लोकतन्त्रका लागि नकारात्मक भएको बताउनु भयो । देश जनता र लोकतन्त्रको लागि अहिलेको अवस्थामा कांग्रेस फुट्नु सुखद् कुरा नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘देश जनता र लोकतन्त्रको लागि अहिलेको अवस्थामा कांग्रेस फुट्नु सुखद् कुरा होइन ।’
निर्वाचन आयोगले शुक्रबार गगन थापा पक्षलाई पार्टीको आधिकारिकता प्रमाणित गरेको थियाे । तर संस्थापन पक्षले भने निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको र आफूहरू सर्वोच्च अदालतमा जाने बताएको छ ।