
काठमाडौं । इंग्लिस प्रिमियर लिग-इपीएलको बहुप्रतिक्षित म्यानचेस्डर डर्बीमा शनिबार म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी प्रतिस्पर्धा गर्दै छन् ।
ओल्ड ट्राफोर्डमा युनाइटेड र सीटी विभिन्न प्रतियोगिता गरी १ सय ९८औं पटक एक अर्काविरुद्ध भिड्न लागेका हुन् । यो खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुनेछ । म्यानचेस्टर युनाइटेडका नयाँ अन्तरिम प्रशिक्षक माइकल करिकले म्यानचेस्टर डर्बीमार्फत कडा परीक्षाको सामना गर्ने छन् ।
युनाइटेड सेप्टेम्बरमा इत्तिहाद स्टेडियममा भएको पहिलो भेटमा ३-० ले पराजित भएको थियो । घरेलु मैदानमा पछिल्ला दुई लिग खेलमा समेत युनाइटेड सिटीविरुद्ध गोल गर्न असफल रहँदै आएको छ । रुबेन आमोरिम बर्खास्त भएपछि युनाइटेडले करिकलाई सिजनको अन्त्यसम्मका लागि अन्तरिम प्रशिक्षक नियुक्त गरेको हो ।
पूर्व कप्तानसमेत रहेका करिकले यसअघि सन् २०२१ मा तीन खेलका लागि टोली सम्हाल्दा दुई जित र एक बराबरी नतिजा निकालेका थिए । हाल इपीएलको सातौ स्थानमा रहेको युनाइटेड शीर्ष चारभन्दा मात्र तीन अंक पछाडि छ । तर पछिल्ला छ खेलमध्ये एकमा मात्र जित हात पारेको छ । एफए कपको तेस्रो चरणमा ब्राइटनसँग २-१ ले पराजित भएपछि युनाइटेड प्रतियोगिताबाट बाहिरिएको थियो ।
उता, पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको म्यानचेस्टर सिटी उत्कृष्ट लयमा छ । एफए कपमा एक्सेटर सिटीलाई १०-१ ले हराएको सिटीले लिग कप सेमिफाइनलको पहिलो लेगमा न्युक्यासलमाथि २-० को जित निकालेको छ । दोस्रो स्थानको सीटी शनिबार लिग लिडर आर्सनलसंगको दूरी घटाउने लक्ष्यमा हुने छ ।
यद्यपि आजै राति आर्सनलले नटिङ्घम फरेस्टको सामना गर्दै छ । जनवरीमा भित्रिएका एन्टोइन सेमेन्योले सिटीमा प्रभावशाली सुरूआत गरेका छन् । सिटी पछिल्ला १३ खेलमा अपराजित छ र इपीएलमा लगातार नौ खेलमा हार बेहोरेको छैन । ग्वार्डिओलाले प्रशिक्षकका रूपमा ३१औं म्यानचेस्टर डर्बी खेल्दैछन् । सिटीले प्रिमियर लिगमा ओल्ड ट्राफोर्डमा सबैभन्दा धेरै अवे जित हासिल गर्ने टोलीको कीर्तिमान पनि बनाएको छ ।
युनाइटेडका नुसाइर माजराउई एफकनमा रहेका छन् भने म्याथिज डे लिग्ट घाइते छन् । ब्रायन एमब्युमो र अमाद डियालो भने राष्ट्रिय टोलीबाट फर्किएपछि उपलब्ध हुनेछन् । कप्तान ब्रुनो फर्नान्डेस यस सिजन युनाइटेडका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक बनेका छन् ।
सिटीका रुबेन डियास, जोस्को ग्भार्डियोल, जोन स्टोन्सलगायत केही मुख्य खेलाडी चोटका कारण बाहिर छन् । एर्लिङ हलान्ड भने आक्रमणको मुख्य हतियार रहने निश्चित छ । हालान्डले युनाइटेडविरुद्ध प्रिमियर लिगमा सबैभन्दा धेरै गोलमा योगदान गरेका सिटी खेलाडी हुन् ।
समग्रमा प्रिमियर लिगमा शनिबार सात खेल हुदै छन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हुँदै आएको छ ।