
काठमाडौं । भारतका विराट कोहलीले रोहित शर्मालाई पछि पार्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको आईसीसी वरीयतामा शीर्ष स्थानमा पुगेका छन्।
रोहित भने शीर्षबाट तेस्रो स्थानमा झरेका छन्। न्युजिल्यान्डविरूद्धको पहिलो एकदिवसीय खेलमा ९१ बलमा ९३ रनको उत्कृष्ट इनिङ्स खेलेपछि कोहली शीर्ष स्थानमा पुगेका हुन्। उक्त खेलमा भारतले न्युजिल्यान्डले दिएको ३ सय रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो।
आईसीसीको पछिल्लो अपडेटअनुसार कोहलीले करिअरमा ११औँ पटक ओडीआई ब्याटरको नम्बर एक स्थानमा पुगेका हुन्। उनी पहिलोपटक सन् २०१३ को अक्टोबरमा शीर्ष स्थानमा पुगेका थिए। हालसम्म कोहलीले कुल ८२५ दिन नम्बर एकमा बिताइसकेका छन्, जुन कुनै पनि भारतीय ब्याटरका लागि सर्वाधिक हो।
समग्र सूचीमा भने उनी दशौँ स्थानमा छन्। सबैभन्दा धेरै दिन नम्बर एकमा रहने कीर्तिमान वेस्ट इन्डिजका दिग्गज विवियन रिचर्ड्सको नाममा छ। उनले पछिल्ला चार ओडीआई खेलमा उनले ७४, १ सय ३५, १ सय २ र ६५ रन बनाएका थिए। हाल अन्तर्राष्ट्रिय क्रिकेटमा कोहली सक्रिय रहेको एकमात्र ढाँचा शैली पनि ओडिआई नै हो।
यता, पहिलो ओडीआईमा रोहितले २६ रन मात्रै बनाएपछि वरीयतामा गिरावट आएको छ। न्युजिल्यान्डका ड्यारिल मिचेल भने उक्त खेलमा ७१ बलमा ८४ रन बनाउँदै तेस्रोबाट दोस्रो स्थानमा उक्लिएका छन्। कोहलीको ७ सय ८५ अंक, मिचेलको ७ सय ८४ र रोहितको ७ सय ७५ अंक रहेकोले आगामी खेलमा वरीयता फेरबदल हुने सम्भावना कायमै छ।