त्रिवेणी कपको उपाधी आयोजककै पोल्टामा

माघ १, २०८२ |विनोद घिमिरे
त्रिवेणी कपको उपाधी आयोजककै पोल्टामा

धनकुटा । धनकुटाको चौबिसे गाँउपालिकामा सम्पन्न त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको तेस्रो संस्करणको उपाधी आयोजकले हात पारेको छ । चौबिसे गाउँपालिका हंसमोरङमा बिहीबार सम्पन्न फाइनल खेलमा कोशी प्रदेश प्रहरी टीमलाई पराजित गर्दै आयोजक त्रिवेणी खेलकुद समितिले उपाधि जितेको हो । 

फाइनल खेलमा त्रिवेणीले कोशी प्रदेश प्रहरीलाई २३–२५, २५–२२, २१–२५, २५–२१ र १५–७ को सेटमा हराउँदै उपाधि बिजेता बनेको हो । विजेता टीम त्रिवेणी खेलकुद समितिले १ लाख, ११ हजार १ सय ११ रुपैयाँ नगद, ट्रफि र प्रमाणपत्र हात पारेको छ । 

उपबिजेता बनेको कोशी प्रदेश प्रहरीले ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझायो । कोशी प्रदेशका विभिन्न जिल्लाका ६ टीमको सहभागीता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि आयोजक त्रिवेणी खेलकुद समितिका प्रदिप कटेल घोषित भए । कटेलले नगद २ हजार ५ सय रुपैयाँ हात पारे । 

यस्तै अर्का उत्कृष्ट कोशी प्रदेश प्रहरीका युगल मगर, उत्कृष्ट सटर जितेश राई र उत्कृष्ट ब्लकर कोशी प्रहरीका ऋषि घिमिरे, उत्कृष्ट स्पाइकर आयोजकको रविन गौतम घोषित भए । उनिहरुलाई जनही २ हजार नगद पुरस्कार प्रदान गरिएको खेल आयोजक समितिका संयोजक रोशन भण्डारीले जानकारी दिए । मकर संक्रान्तिको अबसरमा हरेक बर्ष त्रीवेणी कपको आयोजना हुँदै आएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।