निर्वाचनले मुलुक र संविधान जोगायो, सुशासनको नयाँ मानक स्थापित भयो : गृहमन्त्री अर्याल

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनले मुलुक र संविधान जोगायो, सुशासनको नयाँ मानक स्थापित भयो : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुक, मानवता र संविधान जोगाएको बताउनुभएको छ ।

निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र विगतको भन्दा निकै गुणस्तरीय भएको दाबी गर्दै उहाँले यसले राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरेको बताउनुभएको हो । गृहमन्त्री अर्यालकाअनुसार यदि निर्वाचन हुन नसकेको भए देश, मानवता र संविधान सबै गम्भीर जोखिममा पर्ने अवस्था थियो । 

यस पटकको निर्वाचनमा एक थोपा रगत नबगेको उल्लेख गर्दै उहाँले वर्तमान सरकार गठन भएदेखि नै राजनीतिक हिंसाको अन्त्य भएको दाबी गर्नुभयो । विगतका निर्वाचनहरूमा धेरै ठाउँमा झडपका कारण मतदान स्थगन गर्नुपर्ने र पुनः चुनाव गराउनुपर्ने बाध्यता रहे पनि यसपटक देशभर एकैचोटी शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । 

यसलाई चुनावी सरकारको ठूलो सफलता मान्दै उहाँले अब राजनीतिक सुशासनका लागि नयाँ मानक तय भएको स्पष्ट पार्नुभयो । सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.