
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको अर्को अभ्यास खेलमा थइल्यान्डले नामिबियालाई ७ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७ रनको योगफल तयार पारेको थियो । उसका लागि कप्तान सुने विटम्यानले २३ रन बनाइन् । यास्मीन खानले सर्वाधिक ५४ रनको अर्धशतकीय योगदान दिइन् ।
मर्कजरली गोरासेसले अबिजित १७ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियालाई सामान्य योगफलमा रोक्न थाइल्यान्डका लागि सुनिदा चतुरंगरत्नले २ विकेट हात पारिन् । सुलेपोर्न लाओमी र छायानिसाले १-१ विकेट बाँडे ।
१ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको थाइल्यान्डले २१ बल बाँकी रहँदै ३ विकेट गुमाएर जित सुनिश्चित गर्यो । उसका लागि अपिसरा सुवान्चोरथीले १२ तथा नाथकन चन्थमले ३० रन बनाए । चनिदा सुथिरुङ ११ र नन्नपत कोन्चारोएनकाई ३० रनमा नटआउट रहिन् । नामिबियाका लागि ले-मेरी भिसर, इभेलिन केजारुकुवा र सिल्भिया शिहेपोले १-१ विकेट लिए ।
अर्को अभ्यास खेलमा अमेरिकाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गर्यो । स्कटल्यान्डले दिएको १ सय ५० रनको लक्ष्य अमेरिकाले ७ बल बाँकी रहँदै ६ विकेट गुमाएर पुरा गर्यो । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आधिकारिक अभ्यास खेल अन्तर्गत शुक्रबार अन्तिम ५ खेल आयोजना हुने छन् । ग्लोबल छनोट प्रतियोगिता माघ ४ गतेदेखि सुरु हुने छ ।