चौथोपटक तोकिएको मितिमा पनि नहुने भयो दशौँ राष्ट्रिय खेलकुद

कर्णाली सरकार सहआयोजकको जिम्मेवारी लिनसमेत अनिच्छुक
पुस ३०, २०८२ |कमल पन्त|देव राना
चौथोपटक तोकिएको मितिमा पनि नहुने भयो दशौँ राष्ट्रिय खेलकुद

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद आगामी फागुनको निर्धारित मितिमा नहुने भएको छ । 

राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव रामचरित्र मेहताले मंगलबार सुर्खेतमा छलफलका क्रममा मिति सार्ने प्रस्ताव अघि सार्नु भएको हो । आगामी फागुन एकदखि ७ गतेसम्म कर्णालीमा हुने भनिए पनि संघीय र प्रदेश दुबै सरकारले आफूले गर्नुपर्ने काम र समान्वय नगरी एकअर्कालाई देखाएर पन्छिँदा चौथोपटक तय गरिएको मितिमा प्रतियोगिता नहुने भएको हो ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेश सरकारसँग छलफल गर्न मंगलबार सुर्खेत आइपुगेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद फागुन पहिलो हप्तामा नै हुने बताउनुभयो । मन्त्रीलगत्तै बोलेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले प्रतियोगिता सार्नुपर्ने प्रस्ताव गरेपछि छलफल अन्योलपूर्ण बन्यो । 

दुई महत्वपूर्ण व्यक्तिकै कुरा बाझिएपछि फागुनमा प्रतियोगिता नुहने प्रष्ट हुन्छ । त्यसमाथि खेलकुद सामग्रीको खरिद, प्रदेश रंगशाला हस्तान्तर र प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव नियुक्तिमा गरेको ढिलाइका कारण पनि प्रतियोगिता समयमै नहुने देखिएको हो।

सम्भव भएसम्म निर्धारित मितिमा प्रतियोगिता गर्ने वातावरण बनाउन प्रदेश सरकारलाई सदस्यसचिवको नियुक्ति र रंगशालाको हस्तान्तरको काम अघि बढाउन संघीय सरकारको आग्रह छ । तर प्रदेश सरकारले भने यी दुबै काममा आलटाल गरिरहेको छ । बोलीमा प्रतियोगिता गर्न तत्परता देखाउने तर व्यवहारमा पूर्ण असहयोग गर्ने कर्णाली सरकारले संघीय सरकार नीतिगतरूपमा अस्पष्ट भएको भन्दै सहआयोजक बनेर जिम्मेवारीसमेत नलिने स्पष्ट पारेको छ ।

प्रतियोगिताको मिति तोकिएको दुई महिनाभन्दा लामो समयपछि मात्रै समन्वय र सहकार्य गर्न आएको मन्त्रीसहितको टोलिसँग कर्णालीका मुख्यमन्त्रीले पटक-पटक स्पष्ट योजना नभइ प्रतियोगिता हुन नसक्ने दोहोर्‍याएपछि सामुहिक छलफल निष्कर्षविहीन बनेको थियो । दुई सरकारबीचको समन्वय अभावले पनि प्रतियोगिता निर्धारित मितिमा नहुने भएको हो ।

संघीय सरकारसाग समन्वय गर्ने मुख्य निकाय कर्णाली खेलकुद विकास परिषद्लाई कर्णाली सरकारले वर्षदिनदेखि नेतृत्वविहीन राखेको छ । कर्णालीका सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबन्डामा सहमति नहुँदा प्रदेश सरकारले सदस्यसचिव नियुक्त गर्न सकेको छैन । प्रतियोगिता गर्नका लागि रंगशाला तयारी अवस्थामा भए पनि सदस्यसचिव नभएकै कारण बाँकी रहेको एक प्रतिशत काम र रंगशाला हस्तान्तरण रोकिएको छ।

खेलकुद मन्त्रीले प्रदेश रंगशालाको स्थलगत अनुगमन र खेलाडी तथा प्रशिक्षकसँगको छलफलमा कर्णालीका कुनै पनि मन्त्री र कर्मचारी सहभागी नहुनुले दुई सरकारबीच समन्वयको खाडल पुष्टि हुन्छ । सरकारबीचको यही असमझदारी, खेलकुद सामग्री खरिद गर्दा सार्वजनिक खरिद ऐनले तोकेको ३५ दिन कुर्नुपर्ने बाध्यता र पूर्वतयारी जस्ता प्राविधिक कारण निर्धारित मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने निश्चित भएको हो ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।

Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।