
काठमाडौं । अष्ट्रेलिया महिला क्रिकेट टिमकी कप्तान एलिसा हिलीले फेब्रुअरी-मार्चमा भारतविरूद्ध हुने बहु-फर्म्याट घरेलु शृंखलापछि सबै प्रकारको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेकी छन् ।
यसैवर्ष हुने टी-२० विश्वकपका लागि अस्ट्रेलियाको तयारीलाई ध्यानमा राख्दै उनले भारतविरूद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखला नखेल्ने स्पष्ट पारेकी छन् । यद्यपि, उनी अष्ट्रेलियाको कप्तानका रूपमा एकदिवसीय अन्तर्राष्ट्रिय र पर्थमा हुने एक मात्र डे-नाइट टेस्ट खेल्नेछिन् ।
पूर्व अष्ट्रेलियन विकेटकिपर इयान हिलीकी भतिजी एलिसाले सन् २०१० मा १९ वर्षको उमेरमा न्युजिल्यान्डविरूद्धको शृंखलाबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन् । उनले अष्ट्रेलियाका लागि १ सय ६२ टी-२० अन्तर्राष्ट्रिय, १ सय २६ ओडीआई र ११ टेस्ट खेल खेल्दै करियर टुंग्याउने छिन् । टी-२० अन्तर्राष्ट्रियमा १ सय २६ विकेटमा योगदान दिएकी उनी विकेट किपरको रूपमा सर्वाधिक विकेटकिपिङ डिस्मिसल गर्ने खेलाडी समेत हुन् ।
मेग ल्यानिङको सन्यासपछि सन् २०२३ मा हिली अष्ट्रेलियाकी पूर्णकालीन कप्तान बनेकी थिइन् । कप्तानका रूपमा उनको सबैभन्दा उल्लेखनीय उपलब्धी इङ्ल्यान्डविरूद्धको एसेस शृंखलामा १६-० को ऐतिहासिक 'हृवाइटवास' हो । उनको कप्तानीमा अष्ट्रेलिया सन् २०२४ को महिला टी-२० विश्वकप र २०२५ को महिला विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो ।
महिला क्रिकेटकै सबैभन्दा विस्फोटक ब्याटर र उत्कृष्ट विकेटकिपरमध्ये एक मानिने हिलीले आठवटा आईसीसी विश्वकप उपाधि जितेकी छन् । जसमा छ वटा टी-२० र दुई ओडीआई विश्वबप समेल छन् । उनको नाममा विश्वकप फाइनलमा सर्वाधिक व्यक्तिगत स्कोर बनाउने र महिला टी-२० अन्तर्राष्ट्रियमा विकेटकिपरका रूपमा सर्वाधिक डिस्मिसल गर्ने कीर्तिमान पनि छ ।
साथै, उनी २०२२ को कमन वेल्थ गेम्समा स्वर्ण पदक जितेको अष्ट्रेलियन टोलीको प्रतिनिधित्व गरेकी थिइन् । हिली २०१८ र २०१९ मा आईसीसी महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटर अफ द इयर घोषित भएकी थिइन् ।