
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको तेस्राे दिनको अधिकांश समय सहमतिको प्रयासका लागि भन्दै वार्ता र गुटगत दाउपेचमै बितेको छ ।
विशेष महाधिवेशनको हलमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरू गरेर दबाब बढाइए पनि दिनभर प्रतिनिधिहरूले मन्तव्य राखेरै साँझ परेको छ । भृकुटीमण्डपमा जारी बन्दसत्रले बनाएको नयाँ निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई अघि बढाएको हो । निर्वाचन तालिका अनुसार ९ बजे नेतृत्व चयनका लागि मतदान हुने तय छ । तर, चुनावमै जाने कि सहमति अघि बढ्ने भन्नेमा हलभित्र पनि दुईमत देखिन्छ ।
विशेष महाधिवेशन पक्षले बनाएको वार्ता टोली संस्थापनसँग छलफलमै छ । तर, संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्यलाई अझै पनि स्वीकार्न सकेको छैन । संस्थापनले बिहान ११ बजे बोलाएको केन्द्रीय समिति बैठक दुई पक्षीय वार्ताका कारण अपराह्नसम्म बस्न सकेन । पार्टी कार्यालय सानेपामा संस्थापन पक्षधर नेताहरू जम्मा भए पनि नेतृत्व नपुग्दा दिनभर कुरेरै बस्नुपर्ने अवस्था आयो ।
वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन समितिले बुधबार मात्र उम्मेदवारहरूको अन्तिम नामावली प्रकासन हुने भनेको छ । आइतबार बिहान बन्दसत्रले खम्मबहादुर खाती नेतृत्वमा रहेको निर्वाचन समितिलाई भंग गरेर केसीको नेतृत्वमा पाँच सदस्यीय नयाँ निर्वाचन समिति गठन गरेको थियो ।
विशेष महाधिवेशनको बन्दसत्रभित्र पनि नेतृत्व चयनको माग भएको छ ।