
काठमाडौं । एफए कपको तेस्रो चरणमा अब दुई खेलमात्रै बाँकी छन्।
त्यसमध्येको एक खेलमा प्रिमियर लिग क्लब लिभरपुलले लिग वान क्लब बार्नस्लीको सामना गर्ने भएको छ। साेमबार राति साढे एक बजे हुने खेल लिभरपुलको एनफिल्ड रंगशालामा हुनेछ। लिभरपुल प्रिमियर लिग तालिकाको चौथो स्थानमा छ। बार्नस्ली भने लिग वानको १७औ स्थानमा रहेको छ।
दुबै टोलीबीच इंग्लिस फुटबल संरचनामा ५७ स्थानको अन्तर रहेको छ। २०२५-२६ सिजनको पहिलो प्रतिस्पर्धात्मक खेलमा लिभरपुल कम्युनिटी शिल्डमा क्रिस्टल प्यालेससँग पेनाल्टीमा पराजित भएको थियो। त्यसपछि टोलीले प्रिमियर लिग, च्याम्पियन्स लिग र ईएफएल कपमा लगातार सात खेल जितेको छ। तर ती जितका क्रममा लिभरपुलले धेरै खेलमा अन्तिम समयमा निर्णायक गोल गर्नुपरेको थियो।
त्यसपछि टोलीको प्रदर्शन कमजोर हुँदै गयो। अहिले पुनरगमन गरिरहेको आर्न स्लटको टोली सबै प्रतियोगितामा १० खेलदेखि अपराजित छ। यस क्रममा पाँच जित र पाँच बराबरी भएका छन्। यता, बार्नस्ली भने कठिन सिजन बिताइरहेको छ। लिग वानमा २१ खेल खेल्दै उसले आठ जित, पाँच बराबरी र आठ हार व्यहोरेको छ।
केही खेल हातमा रहेकाले तालिकामा माथि उक्लने सम्भावना भने कायमै छ। पछिल्ला चार खेलमा बार्न्स्लीले जित निकाल्न सकेको छैन्। लिभरपुलका लागि यो खेलअघि चोटको समस्या छ। अलेक्जेन्डर इसाक, कोनर ब्राड्ली, जियोभानी लेओनी, ह्युगो एकिटिके, स्टेफान बाचेटिक र वातारू एन्डो चोटका कारण बाहिर छन्।
मोहम्मद सलाह अफ्रिका कप अफ नेसन्समा व्यस्त छन्। तर, आफूभन्दा कमजोर स्तरको टोलीसँग खेल्न लागेकाले लिभरपुलले टोलीमा परिवर्तन गर्नेछ।