
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ-एन्फाको निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको इजलासले अर्को छलफल भएर आदेश नआउँदासम्मका लागि आगामी माघ २८ गते हुने भनिएको एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन आदेश गरेको हो ।
उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुबै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । अदालतले छलफलका लागि माघ ६ गतेको पेसी तोकेको छ । निर्वाचनका लागि एन्फाले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको थियो । आउँदो माघ अन्तिम साता निर्वाचन तोकिएको भए पनि उम्मेदवारी दर्ता, फारम बुझ्ने लगायत एन्फा निर्वाचनसम्बन्धी कुनै कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।
त्यसैगरी, गत पुस २१ गते प्रकाशित सूचना बमोजिमको उम्मेदवारी दर्ता फारम बुझ्नेलगायत निर्वाचनसम्बन्धी अन्य कुनै पनि कार्य नगर्न अदालतले आदेश दिएको छ ।