
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच संवाद जारी रहे पनि निष्कर्ष निस्कन नसकेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता साउदले यस्तो बताउनुभएको हो । उहाँले विशेष महाधिवेशनको कार्यतालिका स्थगित गरेर गगन-विश्व समूह समेत संवादमा सक्रिय रहेको दाबी गर्नुभयो । उहाँले विशेष महाधिवेशन पक्षधरले अघि सारेका विधानअनुरूपका मागहरू सम्बोधन गर्न पार्टी नेतृत्व तयार रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वार्ता अगाडि बढेको छ । तर निष्कर्ष निकाल्न सकिएको छैन । भृकुटिमण्डपमा भेला गरिरहनुभएको साथीहरू पनि कार्यतालिका स्थगित गरेर आउनुभएको छ । संवाद जारी छ । उहाँहरूले जे प्रस्ताव ल्याउनुभएको छ । हामी सकारात्कम प्रस्तावलाई सकारात्मक रूपमै लिएका छौँ । उहाँले पनि निर्वाचनको तालिका स्थगित गरेर आउनुभएको छ । पार्टी एकतालाई कायम गर्नको लागि सबै गम्भीर हुनुपर्छ । अहिले केन्द्रीय समिति बैठक जारी छ । पार्टी विधानअनुसारका मागहरु सम्बोधन गर्न पार्टी नेतृत्व सकारात्मक छ । भृकुटीमण्डपबाट उनीहरूले भेला स्थगित गरेर फर्किनुपर्छ ।’
उहाँले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिँदै उक्त भेला स्थगित गरेर फर्किन समेत आग्रह गर्नुभयो ।