एन्फाको आयोजनामा बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरू हुँदै

पुस २९, २०८२ |खेल ब्युरो
एन्फाको आयोजनामा बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरू हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ-एन्फाको आयोजनामा बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरू हुँदैछ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान १ बजे सुरू हुनेछ । एन्फा कम्प्लेक्समै दिउँसो ३ बजे सुरू हुने खेलमा सातदोबाटो युथ क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ ।

शहीद स्मारक 'ए' डिभिजन लिग लगातार तेस्रो सिजन पनि आयोजना हुन नसक्दा एन्फाले यस पटक राष्ट्रिय लिग फुटबल आयोजना गर्न लागेको हो । लिगमा १७ क्लबको सहभागिता रहनेछ । लिगअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा सहभागी अधिकांश टोलीका प्रशिक्षक र कप्तानले तयारीको समय निकै कम भएको उल्लेख गरे ।

उनीहरुले नियमित रूपमा घरेलु प्रतियोगिता आयोजना नहुँदा खेलाडी अभाव भएको र खेलाडी पलायनको समस्या क्लबमा देखा परेको दुखेसो व्यक्त गरे । सिंगल राउन्ड रोबिनका आधारमा राष्ट्रिय लिग सञ्चालन गर्न लागिएको हो । लिगका खेलहरू दशरथ रङ्गशाला, सातदोबाटोस्थित एन्फा मैदान र च्यासल मैदानमा हुनेछ ।

सुरुमा 'ए' डिभिजनका ६ र एन्फा प्रेसिडेन्ट कपमा सेमिफाइनल पुगेका ४ सहित १० क्लबले मात्र राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने तय थियो । तर पछि 'ए' डिभिजनका ७ क्लब थपिएर १७ क्लब पुगेको हो । पछिल्लो 'ए' डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेडसहित मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटी 'ए' डिभिजन लिगका शीर्ष ६ हुन् भने एन्फा प्रेसिडेन्ट लिगमा सेमिफाइनल पुग्दै लालीगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब र काक्रेविहार स्पोर्टस क्लब पनि लिगका लागि छनोट भएका छन् । 

राष्ट्रिय लिगका लागि नयाँ थपिएका 'ए' डिभिजन क्लबहरूमा त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, एपीएफ क्लब, प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब छन् । 'ए' डिभिजनको हिमालयन शेर्पा क्लबले मात्र राष्ट्रिय लिगका लागि नाम दर्ता गरेन । लिगको विजेता टोलीले ५० लाख रूपैयाँ पुरस्कार पाउनेछ ।