
काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले यही पुष ३० गते सुरू हुने राष्ट्रिय लिगको खेल तालिकामा परिवर्तन गरेको छ।
एन्फाले साेमबार सूचना जारी गरेर खेल तालिका परिवर्तन भएको जानकारी दिएको हो। नयाँ तालिकामा विभिन्न खेलहरूको खेल स्थल र समय निर्धारण गरेर पठाएको छ। एन्फाले प्राविधिक कारणले यो परिवर्तन गर्नुपर्ने बताएको हो। प्रतियोगिता भने यसअघि तय भएको मितिमा नै सुरू हुनेछ।
पहिलो खेलमा काँक्रेबिहार एफसीले एन्फाकम्प्लेक्समा विहान ११ बजे फ्रेन्ड्स क्लबसँग खेल्नेछ। यो खेल प्रतियोगिताको उद्घाटन खेलसमेत हो। त्यसैगरी, श्री भगवतीले चर्च बोइजको सामना गर्नेछ। यो खेल ३० गते दिउँसो तीन बजे सुरू हुनेछ।
एन्फाले ६४ खेलको मिति तोकेको छ भने ४८ खेलको लागि समय पनि निर्धारण भइसकेको छ। धेरै खेलहरू एन्फा कम्प्लेक्समा राखिएका छन् भने साँझका खेलहरू दशरथ रंगशालामा पनि तोकिएको छ। च्यासल रंगशालामा पनि खेल हुनेछन्। आउँदो माघ २४ गतेसम्म हुने खेलको समय तोकिँदा चुनावअघिका खेलका लागि मिति सार्वजनिक भएको हो।
माघको २५ देखि फागुनको ९ गतेसम्म एन्फाको चुनावका कारण लिग हुनेछैन्। माघको १६ र १७ गते नेपाल र चीनको यू-१९ टिमबीच खेल हुनेछ।