
काठमाडौं । स्पेनिस सुपर कपको उपाधिका लागि आइतबार राति बार्सिलोना र रियाल म्याड्रिड आमनेसामने हुँदैछन्।
साउदी अरेबियास्थित जेद्दाहको किङ अब्दुल्लाह सिटीमा हुने एल क्लासिको फाइनल नेपाली समयअनुसार राति पौने एक बजे सुरू हुनेछ।
बार्सिलोना अहिले १६औँ पटक स्पेनिस सुपर कप जित्ने लक्ष्यमा छ। गत वर्षको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ ले पराजित गरेको थियो। बार्सिलोना अहिले सबै प्रतियोगिताका नौ खेलमा जितको लयमा कायम छ। क्याटलान टोलीले घरेलु प्रतियोगितामा पछिल्लो हार अक्टोबरको अन्त्यमा रियल म्याड्रिडविरुद्ध नै बेहोरेको थियो।
इतिहासमा यी दुई टोली २ सय ६३औं पटक आमनेसामने हुन लागेका हुन्। पछिल्ला पाँच भेटमा बार्सिलोनाले चार जित निकालेको छ। तर पछिल्ला नौ खेलमध्ये पाँचमा रियल म्याड्रिड विजयी भएको छ। स्पेनिस सुपर कप रियल म्याड्रिडले १३ पटक जितिसकेको छ।
पछिल्लो पटक सन् २०२४ मा उसले बार्सिलोनालाई फाइनलमा ४-१ ले हराउँदै उपाधि जितेको थियो। हान्सी फ्लिकको टिममा गाभी, मार्क-आन्द्रे टेर स्टेगन र एन्ड्रियास क्रिस्टेन्सन चोटका कारण टिमबाहिर छन्। लामिन यामल फाइनलमा सुरूवाती टोलीमा फर्कने अपेक्षा गरिएको छ।
रोनाल्ड अराउजो टोलीमा फर्कन सक्ने सम्भावना छ। रियल म्याड्रिडका लागि किलियन एमबाप्पे चोटबाट फर्किएका छन् र फाइनल खेल्न सक्नेछन्। ट्रेन्ट एलेक्जान्डर-आर्नोल्ड, एडर मिलिटाओ र ब्राहिम डियाज भने अनुपस्थित रहनेछन्। रोड्रिगो, एन्टोनियो रुडिगर र राउल असेन्सियोको अवस्था खेलअघि मूल्याङ्कन गरिनेछ।
बार्सिलोनाले हप्तान्तमा भएको सेमिफाइनलमा एथ्लेटिक बिल्बाओलाई ५-० ले पराजित गरेको थियो। पहिलो हाफमा चार गोलको अग्रता बनाएको बार्सिलोनाले सहज जित निकाल्यो। रियल म्याड्रिडले भने सेमिफाइनलमा एट्लेटिको म्याड्रिडलाई २-१ ले हराउँदै फाइनल यात्रा तय गर्यो।
फेडेरिको भाल्भेर्डेले लामो दूरीको फ्रिकिकमार्फत अग्रता दिलाए। दोस्रो हाफको सुरूवातमै रोड्रिगोले अर्को गोल थपे। एट्लेटिकोका लागि अलेक्जेन्डर सोर्लोथले एक गोल फर्काए पनि रियलले जित जोगाएको थियो।