
काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि ‘प्लेयर ट्रायल्स’ आइतबार सुरू भएको छ ।
जसमा उत्कृष्ट प्रदर्शन गर्दै एनेकएल ड्राफ्टमा स्थान बनाउन १ सय ८० खेलाडी उत्रिएका छन् । नेपाली कबड्डीमा व्यावसायिक प्रतियोगिता प्रारम्भ गरेको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले दोस्रो सिजनको लागि दर्ता भएका ५ सय १२ जना खेलाडीमध्ये प्राविधिक टोलीको छनोटको आधारमा १ सय ८० खेलाडी प्लेयर ट्रायल्समा सहभागी भएका हुन् ।
दुईदिने ट्रयल्सको पहिलो दिन आइतबार ९० खेलाडीले प्रतिस्पर्धा गरे । व्यक्तिगत रूपमा दर्ता भए पनि उनीहरूलाई टिममा विभाजन गर्दै कोर्टमा उतारिएको थियो । बाँकी ९० खेलाडीले दोस्रो दिन सोमबार आफ्नो कौशल प्रदर्शन गर्नेछन् । प्लेयर ट्रयल्समा राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम मगर (काठमाडौं माभिरक्सका मार्की र एनकेएल पहिलो सिजनका सर्बोत्कृष्ट खेलाडी), महिला टिमकी कप्तान मानमति विष्ट, एनकेएल पहिलो सिजनको च्याम्पियन जनकपुर नाइट्सका प्रशिक्षक पार्वती राई र मार्की रामु टमाटा, विराटनगर ब्यान्ड्सिटका कप्तान कल्याण भुजेलको सक्रिय सभागिता रहेको छ ।
ड्रफ्टमा स्थान बनाउन पूर्व झापादेखि पश्चिम दाचुर्लासम्मका खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् । एनकेएलले नेपाल कबड्डी संघ (एन्का) को सहकार्यमा तयार पारेको प्राविधिक टोलीले प्लेयर ट्रयल्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एनकेएल ड्राफ्टमा छनोट गर्ने एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए ।
फ्रेन्चाइजको आधारमा बनाइएका ६ सहरका ६ टिमले ड्राफ्टमार्फत एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् । बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो ।
उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो । अहिले दोस्रो सिजनको तयारीलाई तीव्रता दिइएको छ । एनकेएल सिजन-२ को तयारीमा एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरूटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि आयोजना गर्दैछ ।
फ्रेन्चाइज टिमको आधारमा पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमाञ्चक फाइनलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो ।
पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए । एनकेएल सिजन-२ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।