
काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानका सचिव पारस खड्काले आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्न पाउनु नेपालका लागि ठुलो उपलब्धी भएको बताएका छन् ।
सचिव खड्काले ग्लोबल छनोट सफलता पूर्वक सम्पन्न भए, नेपालले आईसीसीका अन्य ठुला प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त गर्ने उल्लेख गरे । पर्याप्त पूर्वाधार निर्माण भए नेपाल यू-१९ विश्वकपको सह-आयोजक बन्न सक्ने उनको भनाइ छ ।
आगामी माघ चार गते बाट ग्लोबल छनाेट सुरू हुँदैछ । तीन टेस्ट राष्ट्रसहित छनाेटमा दश टोली सहभागी छन् । सचिव खड्काले, ग्लोबल छनोटमा नेपालले जस्तो सुकै नतिजा हात पारे पनि स्वीकार गर्नु पर्ने उल्लेख गरेका छन् । अहिले महिला क्रिकेटमा लगानी भइरहेकाले धर्यता देखाउन उनले आग्रह गरे ।
ग्लोबल छनोटको टिकट मूल्य चाँडै निर्धारण हुने बताउँदै पुरुष जस्तै महिला क्रिकेटलाई पनि साथ दिन सचिव खड्काको अनुरोध छ । नेपालका सबै खेल टीयू क्रिकेट स्टेडियममा हुनेछन् । प्रतियोगिताको समूह 'ए'मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगीनी , नामिबिया र अमेरिका छन् ।
यस्तै, समूह 'बी'मा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स र नेपाल छन् । दुबै समूहबाट शीर्ष ३ टोलीहरू सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष ४ मा रहने टोलीहरू यसै वर्ष इग्ल्यान्डमा आयोजना हुने विश्वकपमा छनोट हुनेछन् ।