अमेरिकाविरूद्ध नेपालकाे सहज जित

पुस २७, २०८२ |खेल ब्युरो
अमेरिकाविरूद्ध नेपालकाे सहज जित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि खेलिएको अभ्यास सिरिजअन्तर्गतको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकाविरूद्ध ४ विकेटको सहज जित हात पारेको छ ।

नेपालले आइतबार जिम्वाब्वेसँग प्रतिस्पर्धा गर्नुपर्ने पूर्व तालिका रहे पनि जिम्वाब्वेको यात्रा सम्बन्धी विविध कारणले त्यो सम्भव हुन नसक्दा अमेरिकाविरूद्ध खेल्नु परेको हो । जितसँगै नेपालले सिरिजमा अमेरिकाविरूद्ध यसअघि बेहोरेको हारको बदला समेत लिएको छ ।

मुलपानीको माथिल्लो मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । तेस्रो विकेटका लागि एला क्लारिज र पूजा गणेशले ५४ रनको महत्वपूर्ण साझेदारी गरे । एलाले सर्वाधिक ३९ रन बनाउँदा पूजा गणेशले २२ रनको योगदान दिइन् । मनिषा उपाध्यायले एलालाई बोल्ड गर्दै साझेदारी तोडेकी थिइन् । नेपालका लागि मनिषा उपाध्यायले २ विकेट तथा कबिता कुँवर, ऋया शर्मा, कबिता जोशी र रचना चौधरीले समान १-१ विकेट हात पारे ।

जवाफमा १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमै ६ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर बिन्दु रावल १० रनमा आउट भइन् । पछिल्ला खेलजस्तै राम्रो सुरूवात पाए पनि बिन्दुले इनिङ्सलाई थप लम्ब्याउन सकिनन् । दोस्रो विकेटका लागि काजोल श्रेष्ठ र सम्झना खड्काले ५७ रनको साझेदारी गरे । 

यसै खेलमार्फत केही लय समातेकी काजोलले २८ रनको योगदान दिइन् । त्यसपछि सम्झना र उपकप्तान पुजा महतोबीच ५२ रनको अर्को अर्धशतकीय साझेदारी भयो । सम्झनाले ३२ बलमा २ छक्का र ६ चौकासहित ४९ रनको उत्कृष्ट इनिङ्स खेलिन् । रनआउट हुँदा उनी लगातार तेस्रो अर्धशतक प्रहार गर्नबाट चुकेकी हुन् । 

कबिता जोशीले ६ बलमा १२ रनको योगदान दिइन् । कप्तान इन्दु बर्मा ४ रनमा आउट भइन् । रूबिना क्षेत्री ५ रनमा नटआउट रहिन् । पुजा २८ बलमा १ छक्का र ६ चौकासहित ४३ रनको महत्वपूर्ण इनिङ्स खेल्दै अन्त्यसम्म क्रिजमै रहीन् । अमेरिकाका लागि तारा नोरिस र लेखा शेट्टीले समान २-२ विकेट लिए पनि नेपाललाई जितबाट रोक्न सकेनन् । 

अब नेपालले ग्लोबल छनोटको आधिकारिक अभ्यास खेलमा पुस ३० गते आयरल्यान्ड र माघ २ गते अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । ग्लोबल क्वालिफायर्सको समूह 'बी' मा रहेको नेपालले माघ ४ गते थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ ।