हुलाकबाट आएको बलात्कार जाहेरी सनाखत गर्न पीडित पक्षलाई बाँके प्रहरी आग्रह

पुस २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
हुलाकबाट आएको बलात्कार जाहेरी सनाखत गर्न पीडित पक्षलाई बाँके प्रहरी आग्रह

बाँके । बालिकामाथि जबरजस्ती करणी भएको घटनाको जाहेरी दरखस्त सनाखत गर्न आउन बाँके प्रहरीले आग्रह गरेको छ । 

जबरजस्ती करणी भएको भन्दै हुलाकमार्फत जाहेरी दिएर पीडित पक्ष सम्पर्कमा नआउँदा अनुसन्धानमा असहज भएको भन्दै प्रहरीले आइतबार सूचना जारी गर्दै सम्पर्कमा आउन आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीद्वारा जारी विज्ञप्तिमा २२ पुस गते हुलाकमार्फत पीडित बालिकाको तर्फबाट जाहेरी प्राप्त भएको उल्लेख छ । 

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४ अनुसार सनाखतपछि मात्रै जाहेरी दर्ता गर्नुपर्ने प्रावधान भएकाले पीडित पक्ष सम्पर्कमा नआउँदा समस्या भएको जनाइएइको छ । १७ पुसमा डढुवा गाउँपालिका-४ मा एक बालिकामाथि जबरजस्ती करणी भएको पीडित पक्षको दाबी छ । तर प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सार्वजनिक रूपमा विभिन्न व्यक्तिले बोल्दै हिँडेकाले अनुसन्धान नै प्रभावित हुनसक्ने भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

पीडित १७ पुसमा प्रहरीको सम्पर्कमा आउनसाथ स्वास्थ्य परीक्षणका लागि पठाएर प्रारम्भिक अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । त्यसपछि हुलाकबाट जाहेरी पठाएको पीडित पक्ष हालसम्म सम्पर्कमा नआएको प्रहरीको दाबी छ । पीडितको ठेगानामै पुग्दासमेत सम्पर्क हुन नसकेको प्रहरीको भनाइ छ । 

जबरजस्ती करणीजस्तो गम्भीर प्रकृतिको मुद्दामा प्रहरीले बेवास्ता गरेको भन्ने कुराको खण्डन गर्दै कुनै दबाब प्रभावमा नपरी जाहेरी दरखस्तमा सनाखत गरी अनुसन्धानमा सहयोग गर्नुहुन प्रहरीले सार्वजनिकरूपमा अपील गरेको छ । पीडित पक्षले प्रहरीले जाहेरी लिन नमानेको भन्दै शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.