![गगन-विश्वको सन्देश [समाचार टिप्पणी]](https://kantipurtv-assets-api.ekantipur.com/thumb.php?src=https://kantipurtv-assets-cdn.ekantipur.com/uploads/source/news/2026/miscellaneous/gagan%20thapa%201.png&w=1000&height=550)
“युद्ध जित्नका लागि कहिलेकाहीँ लडाइँ हार्न पनि तयार हुनुपर्छ।
ज्वाला जागृत राखिरहन आफू डढ्न पनि तयार हुनुपर्छ।”
भृकुटीमण्डपको विशेष महाधिवेशन मञ्चबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिएको यो सन्देश केवल एक भाषण थिएन, त्यो पार्टीभित्रको द्वन्द्व, बेचैनी र रूपान्तरणको चाहनाको संक्षिप्त दर्शन थियो। हुन त थापाले नेतृत्वका विरूद्धमा यिभन्दा निकै चर्का र आक्रोशयुक्त अभिव्यक्तिहरू नदिएका होइनन्।
गगन आधि-उधि परिचय नै उनका आक्रामक अभिव्यक्तिहरू हुन्। तर, भृकुटीमण्डपमा उपस्थित महाधिवेशन प्रतिनिधि र कार्यकर्तामाझ गगनका यी शब्दहरूले कांग्रेसभित्र चलिरहेको शक्ति-सन्तुलनको बहसलाई कांग्रेसको दोस्रो विशेष महाधिवेशन र पार्टी इतिहासमा पहिलोपटक भइरहेको यसप्रकारको (नेतृत्वले होइन, प्रतिनिधि आफैंले बोलाएको) महाधिवेशनमा सालिन र दार्शनिक रूपमै चुनौती दिए।
थापा बोल्नुअघि नै एउटा समाचार आइसकेको थियो,'महाराजगञ्जमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका केही नेतालाई छलफलका लागि बोलाएका छन्।” थापाले मञ्चबाटै त्यो समाचार उद्धृत गरे र स्पष्ट सन्देश दिए, विशेष महाधिवेशन सभापति वा प्रधानमन्त्री बन्ने महत्वाकांक्षाबाट प्रेरित छैन्।
“हामी यहाँ पदका लागि उभिएका होइनौँ,” उनको जिकिर थियो, “पार्टीलाई सही दिशामा फर्काउन उभिएका हौँ।” गगनले बितेका तीन महिनामा नियमित महाधिवेशनबाटै पार्टी नेतृत्व हल्लाउन चाहेका हुन्। पार्टीभित्र र बाहिर पटक-पटक गगनले यसबारेमा बोलेका छन्, घोषणै गरेका छन्। तर सम्भव भएन। अब परिस्थिति महाधिवेशन प्रतिनिधिको हातमा गएको छ। यसकारण पनि गगन संयमित देखिए, विश्व सधैं जस्तै लाक्षणिक र सुललित।
उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताहरू कसैले सभापति देउवा र उहाँ पक्षधरमाथि चर्कै आलोचना गरे। कसैले विशेष महाधिवेशनको विपक्षमा उभिएका नेताहरूमाथि कटाक्ष गरे। अरुले पार्टी एकताको नारा बोले, नेतृत्वलाई आत्म समीक्षाको आग्रह गरे। तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने अपेक्षाकृत शब्दमा नरम, शैलीमा संयम र अर्थमा गहन राजनीतिक सन्देशसहित प्रस्तुत भए।
गगन थापाको निष्कर्ष स्पष्ट थियो- बारम्बार सरकारमा पुगेका राजनीतिक दल र तिनका नेताहरूमाथि जनविश्वास खस्कँदै गएको अवस्थामा पार्टी, विचार र कार्यशैलीमा रूपान्तरणबाहेक अर्को विकल्प छैन्। “क्राइसिस अफ इम्याजिनेसन” अर्थात् कल्पनाशीलताको संकटको अवस्थामा यथास्थितिमा टेकेर अगाडि बढ्न नसकिने भन्दै उनले नेतृत्वलाई नयाँ कल्पना, नयाँ साहस र नयाँ अभ्यासतर्फ उभिन आह्वान गरे। सँगै, ठन्डा दिमागले सोच्न पनि आग्रह गरे।
थापाभन्दा ठिक अगाडि बोलेका अर्का महामन्त्री विश्वप्रकाश शर्माको मन्तव्यको सार पनि उस्तै थियो। पार्टी नेतृत्वमा आफूहरू पनि रहेकाले जेन-जी आन्दोलनले औँल्याएका गल्ती र कमजोरीको जिम्मेवारीबाट आफूहरू भाग्न नसक्ने शर्माको स्वीकारोक्ति थियो, नभागेको दलिल पनि थियो।
विशेष महाधिवेशन पार्टी फुटाउन होइन, प्रतिनिधिहरूकै मागअनुसार पार्टीलाई अझ एकताबद्ध, बलियो र गतिशील बनाउनका लागि गरिएको उनको स्पष्टीकरण थियो। जेन-जीले उठाएको सुशासनको माग सम्बोधन गर्ने 'ल्याकत' अझै नेपाली कांग्रेससँग रहेको दाबी पनि उनले गरे।
नेतृत्व परिवर्तनको प्रश्नमा विश्वप्रकाश शर्माले सांकेतिक तर अर्थपूर्ण अभिव्यक्ति दिए,“हामी जमेर बसेको पोखरीजस्तो नेतृत्वलाई बगेर जानुपर्छ भन्ने सन्देश दिन सक्ने ल्याकत राख्छौँ।” विश्वप्रकाशको स्पष्टता पनि उच्चतम हो। त्यसमा प्रकाश थप्ने काम गगनले गरे । उनले महाधिवेशन सर्वोच्च भएको उद्घोष गर्दै भने, “पार्टीमा महाधिवेशनभन्दा ठूलो केही छैन्। महाधिवेशनले चाह्यो भने नेता छान्छ, नेता बदल्छ। नीति र विधान पनि बदल्छ।”
विशेष महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने कुरा आफूलाई पनि थाहा नभएको भन्दै थापाले अन्तिम निर्णय भोलि बस्ने बन्दसत्रको हातमा रहेको स्पष्ट गरे। सीधा र प्रष्ट भाषामा उनले बल महाधिवेशन प्रतिनिधिको कोर्टमा पास गरिदिए,“तपाईँहरूले जे निर्णय गर्नुहुन्छ, त्यसलाई स्वीकार गरेर हामी अघि बढ्छौँ।”
थापाको मन्तव्यलगत्तै कार्यक्रम सञ्चालकले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन भइसकेको उद्घोष गरेका थिए। त्यो घोषणासँगै संस्थापन पक्ष र उपस्थित प्रतिनिधिहरूलाई नेतृत्व परिवर्तनका लागि मानसिक रूपमा तयार रहन आह्वान गरिएको संकेत स्पष्ट देखिन्थ्यो।
अब सोमबार बिहान सुरू हुने बन्दसत्रले नेपाली कांग्रेसको भावी बाटो तय गर्नेछ। आइतबार भृकुटीमण्डपको मञ्चबाट गगन र विश्वले दिएको सन्देश यही थियो- निर्णय नेतृत्वले होइन, नेतृत्व र नीतिको छनोट प्रतिनिधिले गर्नेछन्, तर ति प्रतिनिधिलाई पार्टीको एकता जोगाउने जिम्मेवारी पनि बराबर छ।