
काठमाडौं । अफ्रिका कप अफ नेसन्स-एएफकनमा शनिबार इजिप्ट र आइभरी कोस्टबीच क्वार्टरफाइनल खेल हुँदैछ।
मोरक्कोको स्टेड एड्रारमा हुने खेलमा उपाधि लक्ष्यसहित अघि बढिरहेको इजिप्टले साविक विजेता आइभरी कोस्टको सामना गर्न लागेको हो। अहिले इजिप्ट आठौँ उपाधिको लक्ष्यसहित प्रतियोगिता खेलिरहेको छ। इजिप्टले प्रिक्वार्टरफाइनलमा बेनिनलाई ३-१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो।
उक्त खेल अतिरिक्त समयमा पुगेको थियो। नतिजा आफ्नो पक्षमा भए पनि इजिप्टको प्रदर्शन प्रभावशाली देखिएको थिएन। यस जितसँगै इजिप्टले अफ्रिकी टोलीविरूद्धको अपराजित यात्रा १४ खेल पुर्याएको छ। यस अवधिमा इजिप्टले १२ खेल जितेको छ। दुई खेल बराबरीमा सकिएको छ। मुख्य प्रशिक्षक होसाम हसनको टोली पछिल्ला पाँच खेलमा अपराजित छ भने तीमध्ये चार जित र एक बराबरी खेलेको छ।
शनिबार साविक विजेतालाई हराउन सके इजिप्ट उपाधि यात्रामा अघि बढ्नेछ। एफकनमा इजिप्टले यसअघि सात पटक उपाधि जितिसकेको छ। उता आइभरी कोस्ट पछिल्ला ११ संस्करणमध्ये १० पटक नकआउट चरणमा पुगेको छ। उसले अन्तिम १६ मा बुर्किना फासोलाई ३- शून्यले हराएको थियो।
उक्त खेलमा अमाद डायलो र यान डियोमाण्डेले पहिलो हाफमै गोल गरेका थिए। आइभरी कोस्ट पछिल्ला चार खेलमा अपराजित छ। यसले टोलीलाई आत्मविश्वास दिएको छ। तर क्रिस्ट इनाओ यो खेलमा प्रतिबन्धमा रहनेछन्। यसका बाबजुद अमाद डायलो टोलीका मुख्य स्ट्राइकर रहनेछन्।
उनले प्रतियोगितामा तीन गोल गरिसकेका छन्। इजिप्टलाई चोटले सताएको छ। बेनिनविरूद्धको खेलमा महमुद हसन घाइते भएका थिए। उनको फिटनेसको अवस्था अझै स्पष्ट छैन। फुलब्याक मोहम्मद हम्दी भने बाँकी प्रतियोगिताबाट बाहिरिएका छन्। यी सीमित समस्याबाहेक इजिप्टसँग खेलाडी चयनका लागि पर्याप्त विकल्प छन्।
दुबै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ। क्वार्टरफाइनल खेलमा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। आज राति पौने १० बजे हुने खेलमा अल्जेरियाले नाइजेरियाको पनि सामना गर्नेछ।