नेपाल अमेरिकासँग पराजित

पुस २३, २०८२ |खेल ब्युरो
नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि आयोजना भएको तयारी सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । 

नेपाल अमेरिकासँग ८ विकेटले पराजित भएको हो । मुलपानीको माथिल्लो मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५३ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । नेपालको सुरुवात बलियो रह्यो । 

ओपनर बिन्दु रावल र सम्झना खड्काले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै टिमका लागि राम्रो आधार तय पारे । बिन्दु रावलले २० रन बनाउँदा सम्झना खड्काले अर्धशतक प्रहार गरिन् । उनले सर्वाधिक ५४ रनको योगदान दिइन् । काजोल श्रेष्ठले खाता खोल्न सकिनन् । 

रुबिना क्षेत्रीले २० रन जोडिन् । कप्तान इन्दु बर्मा अविजित ३४ रन बनाएर अन्त्यसम्म क्रिजमा रहिन् । कबिता जोशीले पनि अविजित रहँदै २० रनको उपयोगी इनिङ्स खेलिन् । अमेरिकाका लागि ऋतु सिंहले २ विकेट लिइन् । इसानी वाघेला र अदितिबा चुडासमाले समान १-१ विकेट हात पारे ।

१ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै १६ ओभर २ बलमा मात्र २ विकेट गुमाएर जित हात पार्यो । अमेरिकाको सुरुवात सामान्य रह्यो । इशा ढिंग्राले ११ र साइनवी रेड्डीले ४ रन मात्र बनाउन सके । तर त्यसपछि एला क्ल्यारिज र इसानी वाघेलाले आक्रामक ब्याटिङ गर्दै अविजित अर्धशतक प्रहार गरे । 

यी दुईबीचको अविजित १ सय ३० रनको साझेदारी अमेरिकाको जितको मुख्य आधार बन्यो । एलाले ४५ बलमा १३ चौकासहित ७६ र इसानीले ३७ बलमा १ छक्का र ६ चौकासहित ५३ रन बनाइन् । नेपालका लागि सुमन बिष्ट र रचनाकुमारी चौधरीले समान १-१ विकेट लिए ।

तयारी सिरिजअन्तर्गत नेपालले शुक्रबार स्कटल्यान्ड र आइतबार जिम्वाब्बेसँग खेल्नेछ । सिरिजपछि नेपालले ग्लोबल छनोटको आधिकारिक अभ्यास खेलमा पुस ३० गते आयरल्यान्ड र माघ २ गते अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ । ग्लोबल क्वालिफायर्सको समूह 'बी' मा रहेको नेपालले माघ ४ गते थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।