३३औं त्रिवेणी कपको उपाधि एपीएफलाई

पुस २१, २०८२ |आश गुरुङ
३३औं त्रिवेणी कपको उपाधि एपीएफलाई

लमजुङ । विभागीय टोली एपीएफ क्लबले लमजुङमा सम्पन्न ३३औं त्रिवेणी कपको उपाधि हात पारेको छ ।

सदरमुकाम बेसीसहरस्थित त्रिवेणी रंगशालामा साेमबार सम्पन्न फाइनल खेलमा स्थानीय क्लब लाङ्दीदेवी एफसी नाल्मालाई २-० ले पराजित गर्दै एपीएफले दोस्रोपल्ट उपाधि जितेको हो। योसँगै एपीएफले १२ लाख रूपैयाँ हात पारेको छ। नाल्माले भने ६ लाख रूपैयाँमा चित्त बुझाएको छ।

गत संस्करणमा भने एपीएफले बीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै उपाधि हात पारेको थियो। एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे। खेलको ‘म्याच अफ दी म्याच’ युवराज घोषित भए। सर्वाधिक गोलकर्ता प्रदीप लामा र समीर थोकर घोषित भए। यी दुईले समान ३ गोल गरे। उत्कृष्ट गोलकिपर एञ्ज श्रेष्ठ र प्रतियोगिताको उत्कृष्ट खेलाडी सन्तोष खत्री रहे।

सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रूपैयाँ प्राप्त गरे।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।