एन्फाले आगामी साधारण सभा झापामा आयोजना गर्ने

पुस १६, २०८२ |खेल ब्युरो
एन्फाले आगामी साधारण सभा झापामा आयोजना गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले आगामी नियमित साधारण सभा झापामा आयोजना गर्ने भएको छ। 

निर्वाचनको एजेन्डा समावेश गरी एन्फाले साधारण सभा गर्न लागेको हो। सातदोबाटोको एन्फा कम्प्लेक्समा बुधबार बसेको एन्फा कार्यसमितिको बैठकले साधारण सभाबारे निर्णय गरेको हो। जेन-जी आन्दोलनपछि एन्फामा अर्ली इलेक्सनको माग बढेको थियो। 

एन्फाको विधानमा अग्रिम निर्वाचनको व्यवस्था नभए पनि यसबारे साधारण सभामा एजेन्डा समावेश गरिने भएको हो। पहिले जिल्ला तथा त्यसपछि प्रदेशको निर्वाचन सम्पन्न भएपछि मात्रै एन्फाको विधानमा केन्द्रको निर्वाचन गरिने परिकल्पना रहेको छ। तर कार्यसमितिले जिल्ला र प्रदेशको निर्वाचनअघि नै केन्द्रको निर्वाचन गर्ने तयारी अघि बढाएको हो। 

बुधबारको कार्यसमिति बैठकले आगामी वर्षका लागि लेखा परीक्षण गर्ने संस्थाको समेत टुंगो लगाएको छ।