.png&w=1000&height=550)
काठमाडौं । नेपाली स्टार फुटबलर साबित्रा भण्डारी 'साम्बा'को उत्कृष्ट प्रदर्शनमा वेलिङ्टन फिनिक्सले अस्ट्रेलियन ए-लिगमा वेस्टर्न सिड्नी वान्डरर्सलाई ३-० ले पराजित गर्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।
सानदार प्रदर्शन गरेकी सम्बाले वेलिङ्टनका ३ वटै गोलमा योगदान दिइन् । उनले १ गोल गर्दा २ असिस्ट गरिन् । वान्डरर्स फुटबल पार्कमा भएको खेलमा साम्बालाई हेर्न सिड्नीस्थित नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियाे । सिड्नी घरेलु टोली भए पनि दर्शकदीर्घामा फिनिक्स समर्थकहरूको उत्साह हाबी रह्याे ।
खेलको सातौं मिनेटमा एम्मा मेनले गोल गर्दै फिनिक्सलाई अग्रता दिलाइन् । उनले साम्बाको पासमा गोल गरेकी हुन् । पहिलो हाफमा साम्बाको प्रहार तारगेटमा रहे पनि अफसाइडका कारण रद्द भयो । दोस्रो हाफ सुरू भएको तीन मिनेट मै साम्बाले पेनाल्टी क्षेत्रभित्रबाट सानदार फिनिस गर्दै फिनिक्सको अग्रता दोब्बर पारिन् ।
त्यसको चार मिनेटपछि साम्बाकै सानदार रन र पासमा एम्मा मेनले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल पूर्णरूपमा फिनिक्सको पक्षमा आयो । यससँगै फिनिक्सले सिजनको पहिलो अवे जित दर्ता गर्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ । उसको ७ खेलमा ११ अंक छ । यो हारसँगै वान्डरर्स आठ खेलपछि पनि तालिकाको पुछारमा छ ।