‘जेन-जी आन्दोलनपछि राजसंस्था पुनःस्थापनाको प्रयास गर्नुस् भन्दै शीर्ष दुई नेताको फोन आयो’

पुस १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘जेन-जी आन्दोलनपछि राजसंस्था पुनःस्थापनाको प्रयास गर्नुस् भन्दै शीर्ष दुई नेताको फोन आयो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन-जी आन्दोलनपछि प्रमुख राजनीतिक दलका दुई शीर्ष नेताले आफूलाई फोन गरेर राजसंस्था पुनःस्थापनको प्रयास गर्न आग्रह गरेको दाबी गर्नुभएकाे छ ।

बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले देश संकटमा परेको भन्दै राजसंस्थालाई पुनःस्थापना गर्न प्रयास गर्न आग्रह गर्दै ती शीर्ष नेताहरूले त्यसको लागि राजनीतिक वातावरण बनाइदिने बताएको समेत उल्लेख गर्नुभयो । 

उहाँले तत्कालीन समयमा आफूसँग प्रयास गर्ने हैसियत र सम्भावना पनि नभएको कारण केही गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक दलका शीर्ष नेताहरूको नाम भने खुलाउनु भएन । उहाँले जेन-जी आन्दोलन राष्ट्रवादी शक्तिहरूबीचको एकताको उत्प्रेरक समेत भएकाे बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.