
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि ६४ दिन बाँकी रहँदा निर्वाचन आयोगले ८० प्रतिशत तयारी सकिएको जनाएको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसुची बुझाएसँगै ८० प्रतिशत काम सकिएको आयोगले जनाएको हो । समानुपातिक निर्वाचनमा भाग लिन दर्ता भएका ९३ दलमध्ये ५८ दलले बन्दसुची बुझाइसकेका छन् ।
माघ २० गते उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित गर्ने कार्यक्रम छ । त्यसैगरी आयोगले गत शनिबार अन्तिम मतदाता नामावली पनि प्रकाशित गरिसकेको छ । फागुनमा हुने निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले मतदान गर्दैछन् ।
आयोगले १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजा १ सय १२ मतदान केन्द्र पनि निर्धारण गरिसकेको छ । आयोगले निर्वाचन आचारसंहिता समेत स्वीकृत गरिसकेको छ । निर्वाचन पर्यवेक्षक संस्थाहरूले पनि अनुमति पाइसकेका छन । २७ राष्ट्रिय र ४ वटा अन्तराष्ट्रिय संस्थाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण गर्नेछन् । निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत नियुक्तिको समेत आयोगले तयारी गरिसकेको छ ।
आयोगले मतपत्र छपाइको काम पनि अघि बढेको जनाएको छ । मतपत्रको लम्बाइ, चौडाइ र रङको विषयमा निर्णय हुन बाँकी छ । अधिकांश मुख्य कामहरू सकाएको आयोगले निर्वाचन सामाग्री प्राप्त हुने चरणमा रहेको बताएको छ । ३७ प्रकारका सामाग्री जिल्ला निर्वाचन कार्यालयलाई खरिदका लागि बजेट पठाएको र १५ प्रकारका सामाग्री मात्रै आयोगले खरिद गर्नेछ ।
यसबाहेक अब आयोगले गर्ने मुख्य काम स्थानीयस्तरमा मतदाता शिक्षाको काम अघि बढाउनुपर्नेछ । जनशक्ति व्यवस्थापन र तिनीहरूलाई तामिल दिने तयारी आयोगको छ ।